२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विदेशबाट फर्किएकाको बल्ल निगरानी !

हवाई तथा स्थलमार्गबाट नेपाल प्रवेश गरेका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना संक्रमण बढेपछि लकडाउन सुरु भएको दुई महिनापछि बल्ल विदेशबाट आएकाको अवस्था बुझ्न सुरु गरिएको छ।  पछिल्लो समय विदेशबाट आएका र सम्पर्कमा रहेका व्यक्तिहरुलाई बढी कोरोना संक्रमण देखिएपछि स्थानीय तह मार्फत उनीहरुको अवस्था बुझ्ने तयारी अघि बढाइएको हो।  

कोरोना रोकथाम तथा व्यवस्थापनमा काम गरिरहेको कोभिड –१९ संकट व्यवस्थापन केन्द्र छाउनीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहहरुलाई पत्र लेख्दै हवाई तथा स्थलमार्ग हुँदै गत चैत १ गतेदेखि नेपाल प्रवेश गरेका व्यक्तिहरुको अवस्थाको विषयमा सोधखोज गरेको हो।  ‘२०७६ चैत १ गतेदेखि हवाई तथा स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ, विवरण संकलन र विश्लेषण समेत गरि थप ट्रेसिङ तथा आवश्यक समन्वय गर्न सात वटा प्रदेशहरु अन्तर्गत बसोबास गर्ने व्यक्तिहरुको नामावलीहरु सम्वन्धित प्रदेशमा पठाइसकिएको छ,’ केन्द्रका सहसचिव अनिलकुमार दत्तद्धारा पठाइएको पत्रमा भनिएको छ ‘नामावली प्रेषित गरिएका ति व्यक्तिहरुको व्यवस्थित अभिलेख अद्यावधिक गरि उनीहरुको स्वास्थ्य अवस्था, क्वारेन्टाइनमा रहेको, होम क्वारेन्टाइनमा रहेको वा परीक्षण गरि घर फर्किएको अवस्था के छ यकिन गरि यथाशीघ्र केन्द्रलाई विवरण मागेका छौं। ’ संघीय मामिला मन्त्रालयका अनुसार विदेशबाट फर्किएकाहरुको विवरण राखेर आवश्यक व्यवस्था मिलाउन यसअघिनै भनिएपनि पछिल्लो समय विदेशबाट फर्किएकाहरुमा संक्रमण झनै बढेको पाइएपछि यस्तो निर्णय गरिएको हो।  

‘चैत दोश्रो साता यता नेपाल भित्रिने हवाई तथा स्थल मार्ग यात्रुको लागि बन्द गरिएको छ तर पछिल्लो समय लुकिछिपी आउँदा जोखिम झनै बढेको छ’ मन्त्रालयका एक कर्मचारीले नागरिकसँग भने ‘त्यसकारण फर्किएका मान्छेहरुको व्यवस्थापन, स्थानीय सतर्कता र स्थानीय तहको निगरानी अझै बढोस् र संक्रमण धेरैमा फैलन नपाओस् भनेर यस्तो निर्णय गरिएको हो। ’ केन्द्रको यो पत्रसँग अव स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र विदेशबाट फर्किएका नागरिकहरुको अवस्था बुझ्नेछन्।  त्यसपछि उनीहरुले आवश्यक नियमको पालना गरे नगरेको, पर्याप्त परीक्षण र क्वारेन्टिनको व्यवस्था भए नभएका साथै उनीहरुको सम्पर्कमा रहेका को को जोखिम अवस्थामा छन् पत्ता लगाई थप कदम अगाडि बढाउन सहज हुने मन्त्रालयले जनाएको छ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम नेपालमा बढेसँगै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो।  

 

प्रकाशित: ९ जेष्ठ २०७७ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App