२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोरोना अछुतो कर्णाली

चैतको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिममा कोरोना जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किंदै थिए । सीमामा ज्वरो नापेर मात्र स्वदेश फर्कंदा सरकारले यस्तो निष्कर्ष निकालेको थियो । त्यतिबेला नेपालमा एकजनामा कोरोना संक्रमण पृष्टि भइसकेको थियो ।

चीनबाट गत डिसेम्बरयता सुरु भएको कोरोना संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । त्यसयता कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ मा संक्रमितको संख्या ९४ जना पुगेको छ । सातवटा प्रदेश रहेको नेपालमा ६ वटा प्रदेशमा कोरोना संक्रमण देखिँदा कर्णाली भने कोरोना संक्रमणबाट अछुतो छ । कर्णालीसँग सीमा जोडिएको अर्काे प्रदेश सुदूरपश्चिममा पनि कोरोना भाइरस संक्रमति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई सय ४६ जनामा कोरोना पृष्टि भएको छ । तीमध्ये ३५ जना निको भएका छन् । बाँकीको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ९८ र बागमती प्रदेशमा ११ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशमा तीन, प्रदेश ५ मा ९४ र सुदूरपश्चिममा पाँचजनामा कोरोना पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीमा सात हजार तीन सय सातजनाको कोरोना परीक्षण गरिएको छ । कर्णालीमा बिहीबार एक हजार ६ सय चारजना क्वारेन्टाइनमा बसेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गतको प्रयोगशालाका इन्चार्ज ओम आचार्यका अनुसार कर्णालीका १० वटै जिल्लामा आरडिटी प्रविधिबाट पनि कोरोना परीक्षण गरिएको छ । सुर्खेत र जुम्लामा पीसिआर विधिबाट कोरोनाको नमुना परीक्षण भइरहेको उनले जनाए । कर्णालीमा कोरोनाको जोखिम भनिए पनि परीक्षण प्रभावकारी नहुँदा समस्या भएको कतिपयको भनाइ छ । कर्णालीमा करिब १५ हजारभन्दा बढी सर्वसाधारण भित्रिएका छन् ।

पिसिआर परीक्षणबाट रुकुम पश्चिममा दुईजना र आरडिटी परीक्षणबाट सल्यान र मुगुका एकजनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यतिबेला कर्णालीमा त्रास पैदा भएको थियो । पुनः परीक्षणका लागि काठमाडौं परीक्षण गर्दा उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरदेखि १०७.९ किलोमिटर (तीन घन्टा १४ मिनेटको यात्रा) रहेको बाँकेमा कोरोना पृष्टि भएपछि पुनः कर्णालीमा त्रास छाएको छ । बाँकेमा कर्णालीको बाक्लो आवतजावत हुने गर्छ ।  

‘कर्णालीमा कोरोना कतिखेर कहाँ देखिन्छ यसै भन्न सकिँदैन,’ कर्णाली प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने, ‘सरकारले प्रभावकारी रूपमा जनताको स्वास्थ्य परीक्षण गर्नुपर्छ ।’ आरडिटीाबाट मात्रभन्दा पीसिआर प्रतिविधिबाट शंकास्पद व्यक्ति सबैको कोरोना परीक्षण हुनुपर्ने उनको भनाइ छ ।

प्रदेश भित्रिनेलाई अनिवार्य रूपमा नाकामै आरडिटी परीक्षण गरे थप कोरोना संक्रमणको जोखिम कम हुने रुकुम पश्चिममा रहेको राप्ती समाज अस्पतालका सञ्चालक डिलबहादुर शाहीले बताए । ‘अहिले सामान्य ज्वरो मात्र नापेर मान्छेको आवतजावत भइरहेको छ,’ उनले भने, ‘यसले कर्णालीमा जोखिम भित्रिन सक्छ । त्यसका लागि अनिवार्य नाकामा आरडिटी परीक्षण गर्न जरुरी छ ।’ साथै उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्नु पर्ने उनको भनाइ छ । यतिबेला मौसम परिवर्तनको समय हुँदा कर्णालीमा कुनै न कुनै प्रकोप हुने भन्दै यसपालि अरु प्रकोप पनि नदेखिएको कालीकोटकी हजा सुनारले बताइन् ।

कर्णालीमा कोरोना नदेखिनु सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) प्रभावकारी हुनु, प्रदेश बाहिर तथा विदेशबाट आएको स्वास्थ्य परीक्षण गरिनु र शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु नै कर्णालीमा कोरोना भित्रिन नसकेको कर्णाली प्रदेश सरकारी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनाइन् । ‘कर्णाली जोखिममा थियो,’ उनले भनिन्, ‘यो रोग नियन्त्रण भइ नसकेको र यसको उपचार पनि पत्ता नलागेकाले कर्णाली यसै सुरक्षित छ भन्न सकिँदैन ।’

समयमै नाका–नाकामा हेल्थ डेस्कसँगै स्वास्थ्य परीक्षण गरिनु, लकडाउनलाई कडाइ गरिनु र कोरोना परीक्षण प्रभावकारी रूपमा गरिनुले यहाँ कोरोना संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गतको प्रयोगशालाका इन्चार्ज आचार्यले जनाए । कर्णालीमा स्वास्थ्य परीक्षण प्रभावकारी रूपमा भएको र यहाँका बासिन्दामा कोरोना संक्रमण नहुँदा कोरोना नदेखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । ‘काठमाडौं र हामीले परीक्षण गर्ने एउटै हालको हो,’ उनले भने, ‘तर अहिलेसम्म देखिएको छैन ।’

कर्णालीमा कोरोना नदेखिए पनि ढुक्क हुने स्थिति भने छैन । कर्णालीमा कोरोना भित्रिन नदिन सर्वसाधारण पनि सचेत हुनुपर्ने स्थानीय सुशिल केसीले जानकारी दिए ।

प्रकाशित: १ जेष्ठ २०७७ १८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App