१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ : दुईवटा हलबाट संसद अधिवेशन (अपडेट)

विराटनगर- कोरोना संक्रमणको जोखिम उच्च भएपछि भौतिक दुरी अनिवार्य हुँदै गएको छ । यही भौतिक दुरी कायम गर्न प्रदेश १ संसद्को बजेट अधिवेशन दुई वटा हलमा सांसदहरु राखेर अघि बढ्ने भएको छ ।

हाल प्रदेशसभा रहेको भवनको बैठक कक्ष साँघुरो हुने र दुरी कायम गर्न असम्भव हुने भएपछि सोही भवनको माथिल्लो तलामा रहेको नेकपा संसदीय दलको कार्यालय हललाई पनि बैठक कक्षको रुपमा प्रयोग गरिने भएको छ । 'साविकको संसद् बैठक हल र नेकपा संसदीय दलको हल प्रयोग गरेर संसद् बैठक सुचारु हुने भएको छ', प्रदेृशसभाका प्रवक्ता उपसचिव राजाराम दाहालले भने 'अहिले दुवै हलको पुर्ननिर्माण चलिरहेको छ ।' उनका अनुसार दुवै हलमा बसेका सांसदहरुले एक अर्कालाई देख्ने गरी टेलिभिजन स्क्रिन राखिनेछ । माइकको प्रबन्ध गरिनेछ । त्यसो गर्दा बैठक चलाउन पनि सहज हुने र भौतिक दुरी पनि कायम हुनेछु उनले भने ।

तत्कालीन मोरङ जिल्ला विकास समितिको कार्यालय रहेको भवनमा राखिएको प्रदेशसभालाई पुग्दो संरचना अझै छैन । दुई वटा हलमार्फत बैठक सुचारु गर्ने तयारी गर्दा सञ्चारकर्मी र दर्शकका लागि छुट्याइएको ५० वटा सीट हटाइएको छ । सांसदहरुका लागि रहेको ९२ सिटमध्ये  आधाभन्दा धेरै हटाएर नेकपा दलको हलमा राख्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

असार १ गते भित्र प्रदेशको बजेट ल्याउनुपर्ने भएका कारण जेठ १७ भित्रमा अधिवेशन सुरु भइसक्नुपर्नेछ । त्यही हतारोका कारण सचिवालयले बैठकका लागि वैकल्पिक स्थान खोजी गरेको थियो । तर, अन्यत्र व्यवस्थापन गर्दा खर्च बढ्ने र समय पनि लाग्ने भएपछि दुईटा हलमार्फत बैठक अघि बढाउने निष्कर्षमा प्रदेशसभा पुगेको हो । प्रदेश मन्त्रीपरिषदका एक सदस्यका अनुसार जेठ दोस्रो साता अधिवेशन आह्वान गर्ने तयारी भइरहेको छ ।

प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशन चैत ६ को बैठकपछि कोरोना त्रासले स्थगित भएको थियो । त्यसयता एउटै पनि बैठक नभई अधिवेशन अन्त्य भएको थियो । यसबीचमा संसदीय समितिहरु समेत निष्क्रिय रहेका थिए । प्रदेशसभाले प्रदेश राजधानी विराटनगरलाई बनाउने प्रस्तावसहित ४४ वटा विधेयक पारित गरिसकेको छ । पाँचौ अधिवेशनबाट प्रदेशको नामकरण गर्ने योजना बनाए पनि कोरोनाका कारण अधिवेशन अन्त्य गर्नुपर्ने भएपछि नामकरण रोकिएको छ ।

   

 

 

प्रकाशित: ३१ वैशाख २०७७ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App