११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतले दजगजा मिचेर बाँध बनाउँदै: स्थानीय आक्रोशित तर प्रशासन मौन

रौतहट - दजगजा मिचेर भारतीय पक्षले धमाधम बाँध निर्माण गरे पनि रौतहट प्रशासन मौन देखिएको छ। रौतहटको ईशनाथ नगरपालिकाको सिमानासित जोडिएको नेपाल भारत सीमाको दशगजालाई मिचेर भारतीय पक्षले धमाधम बाँध निर्माण गरिरहेको भए पनि रौतहट प्रशासन भने मौन छ।

भारतले एकतर्फी रुपमा अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई मिचेर निर्माण गरेको बाँधको स्तर वृद्धि र विस्तार गर्न थालेपछि स्थानीय आक्रोशित भएका छन्। एक हप्तादेखि भारतीय पक्षले दशगजा क्षेत्रमै बाँध निर्माण गरिरहेको जानकारी जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटलाई स्थानीय गराइरहेको भए पनि स्थानीय प्रशासनले बाँध निर्माणलाई रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन्।

नेपाल भारत सीमाको दशगजामा रहेको जंगे पिलर नम्बर ३४७ को पूर्व, मझौला पिलर ३४६–५ हुँदै बन्जरहासम्म एक दशक अघि भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेको थियो। स्थानीयले विरोध गर्दागर्दै पनि निर्माण सोही बाँधलाई भारतीय पक्षले पाँच फिटभन्दा बढी अग्लो बनाइरहेको छ। पहिले नै सीमा मिचेर भारतीय पक्षले निर्माण गरेको बाँधलाई पाँच फिटभन्दा बढी अग्लो बनाउने र थप चौडा पार्ने काम गरिरहेको छ। 

अन्तराष्ट्रिय कानुनअनुसार सिमानामा पक्की वा स्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन। नेपाल भारतको सिमाना छुट्याउने दशगजा क्षेत्रको भूमिमा कुनै पनि संरचना निर्माण गर्न नपाइने कानूनी प्रावधान विपरित भारतले मर्मतको नाममा रौतहटको ईशनाथ नगरपालिकामा बाँधको चौडाइ तथा उचाइ थप्ने काम एकतर्फी रुपमा गरिरहेको छ।

करिब साढे दुई किलोमिटर लामो बाँधको मरम्मत भारतीय पक्षले गरिरहेको स्थानीय अमरजीत साहको दाबी छ। सिमेन्टको बोरामा ढुंगा र माटो भरेर भारतीय पक्षले एकतर्फी रुपमा बाँधको अस्वाभाविक उचाइ तथा चौडाइ बढाइरहेको साहको भनाइ छ।

सीमा मिचेर भारतले उक्त बाँध पहिले नै नेपाली भूमिमा निर्माण गरेको स्थानीयको दाबीे छ। ईशनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिगु साह बनियाले भारतीय पक्षले निर्माण गरिरहेको बाँधको बारेमा पटकपटक स्थानीय प्रशासनलाई जानकारी गराएको तर रौतहट प्रशासनले बाँध निर्माणलाई रोक्न कुनै ठोस पहल नगरेको आरोप लगाएका छन्। 

स्थानीय नागेन्द्र साहले हरेक वर्ष बाँधले गर्दा तीन वटा गाउँ डुबानमा पर्ने गरेको बताएका छन्। भारतले एकतर्फी रुपमा निर्माण गरेको बाँधले पानी रोकिएर जम्ने गरेको र तीन वटा गाउँ पूर्ण रुपमा टापूमा परिणत हुने गरेको बताएका छन्। 

अहिले पनि भारतीय पक्षले पानी निकासको कुनै उपाय नदिएकोले दुई गाउँ औरैया तथा एउटा बन्जरहा डुबानमा पर्ने निश्चित भएको बताउँदै साहले हजारौँ बिघा खेती सखाप हुने निश्चित भएको बताएका छन्। आफूहरुले वर्षौँदेखि सीमा क्षेत्रको बाँधको विरोध गरे पनि कतैबाट कुनै सुनुवाइ नभएको बताउँदै साहले हजाराँैँ मानिस त्रसित र आक्रोशित रहे पनि केही गर्न नसकिने विवशता रहेको दुखेसो पोखेका छन्।

बाँध निर्माण भइरहेको र स्थानीयको गुनासोको विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसित सम्पर्क गर्दा भारतीय पक्षले बाँध मरम्मतको काम गरिरहेको आफूले थाहा पाएको र भारतीय समकक्षी डिएमसित रोक्नलाई आग्रह गरेको भए पनि भारतले अटेरी गरेको बताएका छन्। आफूले गृह मन्त्रालयमा समेत जानकारी गराइसकेको प्रजिअ घिमिरेको भनाइ छ। घिमिरे भन्छन् – भारतीय पक्षले अन्तर्राष्ट्रिय सहमतिलाई तोडेर एकतर्फी दशगजा क्षेत्रमा बाँधको विस्तार गरिरहेको छ।

प्रकाशित: २७ वैशाख २०७७ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App