२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली भूमिमा भारतले सडक उद्घाटन गरेकोप्रति माओवादी केन्द्रको आपत्ति

काठमाडौं - भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेकपा(मोआवादी केन्द्र)ले कडा रुपमा विरोध जनाएको छ। केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमाथि गरिएको अतिक्रमणको निन्दा गर्दै विरोध जनाएको हो। 

सुप संयोजक र  इन्चार्ज क्रमसः लोकराज जैशी र रंगनाथ ढकालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्य नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्र राज्यमाथि भारतीय नाङ्गो हस्तक्षेप भएको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'महामारीकाे रूपमा विश्वभर फैलिएको कोराना भाइरस(कोभिड-१९)ले मानव समूदाय अत्यन्त अभाव र संकटपूर्ण अवस्थामा गुज्रिरहेको सर्वविदितै छ। कोरोना संकटको रोकथाम, नियन्त्रण तथा राहत-व्यस्थापनमा विश्व नै जुटिरहेको बेला भारतीय विस्तारवादले नेपाली भूमिमाथि गिद्देनजर राख्दै उत्तरी सीमा क्षेत्रमा पर्ने नेपालको भूमि लिपुलेकमाथि गरिएको अतिक्रमणको हाम्रो पार्टी जोडदार विरोध गर्दछ। त्यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं स्वतन्त्र राज्यमाथी भारतीय बिस्तारवादको नाङ्गो हस्तक्षेप हो।'

आफ्नो मुलुकमाथि यसरी हस्तक्षप हुँदा समेत वर्तमान सरकारको मौनताले आफूहरुलाई आश्चर्यचकित बनाएको समेत विज्ञप्तिमा उल्लेख छ।  

'मुलुकमाथिको यो हस्तक्षेप नेपाल आमाको अस्मितामाथिको मजाक हो। के हामी हाम्रो राष्ट्रिय अस्मिता लिलाम भएको हेरेरै बस्छौ ?' विज्ञप्तिमा अगाडि भनिएको छ। 'किमार्थ नेपाली नागरिकलाई यो स्विकार्य छैन र हुनु हुँदैन।' 

भूमि अतिक्रमणको कडा विरोध गर्दै सरकारलाई अविलम्ब कुटनैतिक पहलमार्फत देश रक्षार्थ जुट्न विज्ञप्तिमा माग गरिएको छ। साथै उक्त पार्टीले सम्पूर्ण देशभक्त, राष्ट्रवादी, जनवादी एवं स्वतन्त्रताप्रेमी नागरिकहरूलाई ओली सरकारको मौनताविरूद्ध सचेतनापूर्वक विरोध गर्न र भौतिक दुरीको ख्याल गर्दै आन्दोलनमा उत्रिन समेत आह्ववान गरेको छ।

प्रकाशित: २७ वैशाख २०७७ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App