१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जनतालाई आश्वस्त बनाऊ : कांग्रेस

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालगन्जसहित देशैभर कोरोना परीक्षण युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार प्रधनमन्त्री केपी शर्मालाई टेलिफोन गरी व्यापक परीक्षण नहुँदा अवस्था जटिल बन्न लागेकोसमेत औंल्याएका छन्। उनले नेपालगन्जमा व्यापक रूपले परीक्षण गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। ‘देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गरियोस्,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कुबेत सरकारको सेल्टरमा राखिएका तीन हजार बढी नेपालीसहित मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ। विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्नेबारे सरकारले व्यवस्थित योजना अहिलेसम्म नबनाएको भन्दै देउवाले तत्काल त्यस्तो योजना बनाएर क्रमशः कार्यान्वयनमा लैजान प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। विभिन्न देशले आफ्ना नागरिकलाई विमानको व्यवस्था गरेर स्वदेश फकार्उने क्रम जारी राखेको जनाउँदै देउवाले सीमानाकामा क्वारेन्टिनमा बसेका जनताले देश फर्कन नपाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

‘सीमानाकामा क्वारेन्टिनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कैयौंले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतका विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउनुस्,’ देउवालाई उद्धृत गर्दै कांग्रेसले भनेको छ। अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेकोे स्मरण प्रधानमन्त्रीलाई गराउनुभएको छ। केन्द्रीय सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टिनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन प्रधानमन्त्रीसमक्ष सभापतिले आग्रह गरेको कांग्रेसले जनाएको छ। 

 

प्रकाशित: २६ वैशाख २०७७ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App