coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बढ्यो चिनियाँ सक्रियता

काठमाडौ - सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेका बेला उत्तरी छिमेकी चीनको सक्रियता बढेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितका  बहुमत सचिवालय सदस्य उनको विपक्षमा मोर्चाबन्दीमा छन्।

पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट ओलीलाई हटाउनुपर्ने आवाज उठ्नुका साथै स्थायी कमिटीको बैठक माग हुँदै आएको छ। प्रधानमन्त्री ओलीले भने त्यसलाई टार्दै सचिवालय बैठकमा सीमित हुँदा नेकपाको विवाद उत्कर्षतर्फ उन्मुख भइरहेको छ। यही अवस्थामा नेपालस्थित चिनियाँ राजदूत होउ याङछीले नेकपाका नेताहरुसँगको भेटघाट तीव्र बनाएकी छन्। 

चिनियाँ राजदूतले सोमबार यता राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका प्रमुख नेताहरुसँग भेटवार्ता गर्न भ्याएकी छन्।
 

राजदूत याङछीले शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई उनकै निवास खुमलटार पुगेर भेट गरेकी छन्। दाहाललाई भेटेलगत्तै याङछीले नेता माधव नेपालसँग पनि भेट गरिन्। उनले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् भने सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेकी थिइन्। सोमबार नै राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच टेलिफोन संवाद भएको थियो। त्यस्तै बुधबार चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ ताओले नेकपाका विदेश विभाग प्रमुख नेपाल, उपपप्रधानमन्त्री ईश्वर पोख्रेल र प्रदेश इन्चार्जहरुसँग भिडियो कन्फरेन्स गरेका थिए।  

नेकपाभित्रको तीव्र विवादले सरकार परिवर्तनसम्मको संकेत गरिरहेका बेला बढेको चिनियाँ सक्रियतालाई धेरैले चासोका साथ हेरिरहेका छन्। यो सक्रियता नेकपाभित्रको विवाद समाधानका लागि भएको विश्लेषण गर्न थालिएको छ। 

संविधान निर्माण हुनुभन्दा पहिलेको अवस्थामा नेपालको आन्तरिक मामिलामा भारतीय चासो खुला रुपमा देखिने गरेको थियो। राजनीतिक दलभित्रको फुट तथा मिलन र सरकार निर्माण प्रक्रियामा भारतीय भूमिका महत्वपूर्ण मानिन्थ्यो। चिनियाँ पक्षले भने कसैको आन्तरिक मामिलामा दखल दिँदैन भन्ने आम बुझाइ थियो। पछिल्लो समय नेपालको परिप्रेक्षमा चिनियाँ चासो पनि बढ्दै गरेको देख्न सकिन्छ। 

कतिपयले नेकपाको एकतामा समेत चिनियाँ पक्षको भूमिका रहेको बताउने गरेका छन्। गत वर्ष नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीबाट दिइएको प्रशिक्षण तथा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीचको बाक्लो भेटघाट तथा भ्रमण आदानप्रदानले समेत नेपालमा चिनियाँ चासो बढेको पुष्टि गर्छ। गत अक्टोवरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पनि नेपाल चीनको प्राथमिकतामा रहेको देखाउँछ।

राजनीतिक विश्लेषक हरि रोका भने चिनियाँ राजदूतको सक्रियताको कारण नेकपाको विवाद भन्दा अरु नै भएको अनुमान गर्छन्। उनी चिनियाँ राजदूतको सक्रियतालाई अमेरिकन सहयोग परियोजना एमसिसीका बारेमा अध्ययन गर्न बनेको नेकपाको कार्यदलले रिपोर्ट सार्वजनिक गरेको अवस्थासँग जोड्छन्।

कार्यादलले कमीकमजोरी औल्याउँदा समेत सरकार एमसिसी कार्यान्वयनका पक्षमा देखिएको सन्दर्भमा राजदूतले भेटघाट बढाएको उनको अनुमान छ। उनी अमेरिका र चीनबीच शीतयुद्ध चरम अवस्थामा पुगिरहेका बेला अमेरिकी परियोजनामा कमजोरी हुँदाहुँदै पनि सरकारले अघि बढाउन खोजेको अवस्थामा चिनियाँ पक्ष झस्किएको हुनसक्ने बताउँछन्। नेकपाको कार्यदलले शुक्रबार उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा कार्यदलका सदस्य प्रदीप ज्ञवालीले भने फरक मत राखेका छन्। 

कुटनीतिक मामिलाका जानकार मधुरमण आचार्य भने राजदूतले राजनीतिक दलका नेतासँगको भेटघाट तीव्र बनाउनुका पछाडि राजनीतिक गतिविधिका बारेमा जानकारी लिने उद्देश्य हुन सक्ने बताउँछन्। ‘अहिले कोरोनाको सन्दर्भमा चिनियाँ सहयोग पनि भइरहेकाले सामान्य भेटघाट हुन सक्छ, सरकारबाहेक दलका नेताहरुसँगको भेटघाटले आन्तरिक मामिलामा पनि चासो राखेको हुनसक्छ,’ उनले भने।

आचार्य राजदूतको सक्रियता सामान्य भेटघाटबाहेक आन्तरिक विषयमा चासो राख्ने उद्देश्यले भएमा नेपाली नेतृत्व सचेत हुनुपर्ने बताउँछन्। सरकार र पार्टीभित्रका आन्तरिक विषयलाई आन्तरिक रुपमै हल गर्नुपर्ने आचार्यको भनाइ छ। उनी विदेशी राजदूतलाई कुनै विषयमा जानकारी गराउनुपर्ने भएमा राजनीतिक नेतृत्वको माध्यमबाट नभएर सरकारले परराष्ट्र मन्त्रालयको माध्यमबाट गराउनुपर्ने बताउँछन्।

चिनियाँ दूतावासले राजदूतको भेटघाटलाई गैरराजनीतिक बताएको छ। चिनियाँ दूतावासले यसलाई नियमित भेटघाट भनेको छ। भेटमा दुवै पक्षबीच कोभिड १९ सँग कसरी लड्ने भन्ने विषयमा विचार आदानप्रदान र दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको चिनियाँ दूतावासले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७७ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App