९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट अधिवेशनको तयारी, प्रधानमन्त्रीद्वारा संसद भवनको निरीक्षण

काठमाडौं- सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनमा रहेको बैठक कक्षको निरीक्षण गरेका छन्। कोभिड–१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको अवलोकन गरेको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शपछि स्थलगत अवलोकन गरेको बताए।

बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोभिड–१९को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ। कोभिड–१९ को जोखिमका बीच सामाजिक दुरी कायम गर्दै स्वास्थ्यको दृष्टिले अपनाउनु पर्ने सुरक्षाको विषयमा ध्यान दिइएको सहप्रवक्ता धमलाले बताए। त्यसका लागि सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने लगायतको काम भइरहेको उनले बताए। त्यस्तै संसद भवनमा प्रवेश गर्दा डिसइन्फेक्सन गेट राख्ने, ज्वरो नाप्ने व्यवस्था गरिने तथा स्यानिटाइजरको प्रयोग गर्ने तयारी भइरहेको उनले बताए। बैठक कक्षभित्र पनि स्वास्थ्यको दृष्टिकोणले सावधानी अपनाइने उनले बताए।

१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ। त्यसअघि नीति तथा कार्यक्रम, प्रिबजेट लगायतका विषयमा समेत संसदमा छलफल हुनुपर्छ। त्यसैले लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो भन्दा छिटो अधिवेशन आह्वान गर्ने तयारीमा सरकार छ। सम्भवतः जेठको पहिलो साता अधिवेशन सुरु गर्ने तयारी सरकारले गरिरहेको छ। बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था रहेकोछ।

प्रकाशित: १७ वैशाख २०७७ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App