४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चीनसँग औषधि खरिद सम्झौता

काठमाडौं - कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ। नेपालका तर्फबाट बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले आइतबार हस्ताक्षर गरेको हो। 

नेपालले चिनियाँ पक्षले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको मूल्यलाई स्वीकार गर्दैसम्झौतापत्र पठाएको थियो। सम्झौता भएको दुई दिनभित्र नेपालले रकम पठाउनुपर्ने नियमअनुसार सोमबार रकम पठाइएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार पैसा पठाएको एक सातामा स्वास्थ्य सामग्री आइपुग्नेछ। सम्झौताअनुसार ६७ किसिमका ३ सय ४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याइनेछ।

सरकारले नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेसँगै कोभिड १९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेसन (सिसिएमसी–अप्स) मार्फत खरिद प्रक्रिया अघि बढाइएको हो। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री ल्याउन लागेको हो।

सेनाले स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालयमार्फत भारत, चीन, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको थियो। त्यसमध्य चीन र भारतले नेपालको प्रस्तावप्रति चासो देखाउँदै आवश्यक औषधि उपलब्ध गराउन सक्ने जनाएका थिए।

भारतले आवश्यक उपकरण आफूसँग पर्याप्त नभएकाले औषधिमात्र उपलब्ध गराउन सक्ने जनाएको थियो भने चीनले औषधि तथा उपकरण उपलब्ध गराउन सक्ने जानकारी गराएको थियो। त्यसपछि सेनाले चीनसँग छलफल अघि बढाएको थियो।

प्रकाशित: ९ वैशाख २०७७ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App