९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सामान खरिद प्रक्रियामा प्रधानमन्त्रीको चासो

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको विषयमा चासो राखेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग सामान खरिद प्रक्रिया किन विवादित भन्दै उनले सोधेका छन्।

‘यस्तो समयमा खरिद प्रक्रिया किन विवादित बनाएको, नियतले विवाद आएको हो कि साँच्चै विवाद आएको ? यो विषयमा मन्त्रालय र मन्त्रीको ध्यान किन गएको छैन ? सरकारले राम्रो काम गरेको छ भन्ने सुन्दासुन्दै खरिदमै भ्रष्टाचार भयो भनेर आउनु राम्रो कुरा भएन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै मन्त्रिपरिषद्का एक सदस्यले भने। उनका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री ढकाललाई राम्रोसँग काम गर्न निर्देशन पनि दिएका छन्। चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्य सामग्रीमा आर्थिक अनियमितता भएको चर्चा चलेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ।

स्वास्थ्यमन्त्री ढकालले निश्चित व्यवसायीसँगको मिलेमतोमा प्रचलितभन्दा चर्को मूल्य तिरेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ। रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले सरकारले निश्चित व्यवसायीसँगको सेटिङमा चर्को मूल्य तिरेर मेडिकल सामग्री खरिद गरेको बताए। स्वास्थ्य मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग करिब एक अर्ब २५ करोड रुपैयाँको मेडिकल सामग्री बिनाप्रतिस्पर्धा खरिद गरेको छ।

मन्त्रालयले कोभिड–१९ का बिरामीको पहिचान, परीक्षण र उपचारका लागि आवश्यक औषधि, पिपिई, मास्कलगायत सामग्री खरिदका लागि आह्वान गरेको टेन्डरमा कोही पनि सहभागी नभएको जनाएको छ। मन्त्रालयको यस्तो दाबीलाई समेत संघले खण्डन गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले आवश्यक मेडिकल सामग्री खरिद गर्न इमेलमार्फत कोटेसन पठाउन आग्रह गरेको र विभिन्न व्यवसायीले पठाएको कोटेसनमा कुनै छलफल नगरी निश्चित कम्पनीलाई महँगोमा ठेक्का दिएको संघको भनाइ थियो।

मन्त्रालयले खरिद प्रक्रियामा कुनै पनि व्यवसायी सहभागी नभएको भन्दै शनिबार निकालेको विज्ञप्तिमा ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २५ गते स्वास्थ्य सेवा विभागबाट माग भएबमोजिम १९ व्यवसायीबाट सिट कोटेसन पेस भएको स्मरण गराएको छ। संघले आवश्यकता र आपूर्ति समयअनुसार खरिद आदेश प्रदान गर्ने निर्णय भएको स्पष्ट पारेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने चीनबाट खरिद गरिएका मेडिकल सामग्री महँगो पर्न गए पनि अनियमितता नभएको दाबी गरेका छन्। उनले संसारभर मेडिकल सामग्री अभाव भएकाले सामान्य अवस्थाको जस्तो मूल्यमा नपाइएको दाबी गरेका छन्।

 

प्रकाशित: १८ चैत्र २०७६ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App