५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘प्रदेश २ को समृद्धि संघीय सरकारको प्राथमिकता’

बारा – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रदेश २ लाई समृद्ध बनाउनु संघीय सरकारको प्राथमिकता भएको दाबी गरेका छन्। आइतबार कलैया–जितपुर सडकखण्डको जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुरटोलस्थित दुधौरा खोलामा बनाइएको पुल उद्घाटन गर्दै नेम्वाङले भने, ‘तराई–मधेसको मेरुदण्डका रूपमा रहेकोे हुलाकी सडकको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।’ पूर्व–पश्चिम रेलमार्गको काम पनि प्रदेश २ कै बर्दिबासबाट सुरु गरिएको उनको भनाइ थियो। ‘वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्ग, निजगढ–काठमाडौं जोड्ने फास्ट ट्र्याकलगायत ठूला योजनाहरू सरकारले प्रदेश २ मा सञ्चालन गरिरहेको छ,’ मन्त्री नेम्वाङले भने।

समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानअन्तर्गत संघीय सरकारले आवश्यक परेका स्थानहरूमा पुल र सडक बनाउने कार्यमा विशेष ध्यान दिएको नेम्वाङले बताए। संघीय सरकारको पहलमा देशका विभिन्न भूभागमा तीन सयभन्दा बढी पुल निर्माण भइरहेको र सबै पुल बनिसकेपछि देशले समृद्धितर्फ फड्को मार्ने जिकिर उनको थियो। एक सय १२ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको दुधौरा पुलले बाराको सदरमुकाम कलैयालाई वीरगन्ज–पथलैया व्यपारिक मार्गसँग जोड्ने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।

२०७२ असार ३१ गते हेटौंडाको मृत सञ्जीवनी निर्माण सेवाले साढे तीन वर्षभित्र नौ करोड ८० लाखमा पुल बनाउने सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुमन योगेशले बताए। कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल, संविधानसभा पूर्वसदस्य नजमा आलम, प्रदेशसभाका सदस्य सुन्दरबहादुर विश्वकर्मा, सीता गुरुङ, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, अच्यूत मैनाली, यातायात विभागका महानिर्देशक केशव शर्मालगायतको उपस्थिति थियो।

प्रकाशित: ३ चैत्र २०७६ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App