१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्णय सच्याउन देउवामाथि दबाब

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानविपरित नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएको भन्दै तत्काल पुनःस्थापना गर्न माग गरेका छन्। पोखरेललाई हटाएर जिल्लाको नेतृत्व विष्णु पौडेललाई दिएपछि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको असन्तुष्ट पक्षको भेलाले निर्णय सच्याउन आग्रह गरेको हो।

पार्टी विधानको धारा ५० को ८ विपरीत पोखरेललाई हटाएर पौडेललाई नियुक्त गरेको ठहर गर्दै असन्तुष्ट पक्षले सभापति देउवासँग कुरा गर्ने जिम्मेवारी महामन्त्री शशांक कोइरालालाई दिएको छ। सभापतिसँग बिहीबार बिहानसम्म त्यस विषयमा छलफलका लागि समय नदिए सोही दिन निर्णय सच्याउन आग्रहसहितको पत्र लेख्ने सहमति भएको भेलामा सहभागि केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए।

असन्तुष्ट पक्षले कार्यवाहक सभापति तोकेको ६ महिनाभित्र अधिवेशन गराइसक्नुपर्ने भन्दै १४औं महाधिवेशनको मिति सार्वजनिक भएपछि सभापतिले विधानविपरीत जिल्ला सभापति तोकेको जनाएको छ। विधानको धारा ५० को ८ अन्तर्गत पोखरेलाई कार्यवाहक सभापतिको जिम्मेवारी पाएको जनाउँदै असन्तुष्ट पक्षले उनकै नेतृत्वमा नयाँ विधानअनुसार समायोजनको काम सकिएको पनि जनाएको छ। ‘महाधिवेशन प्रक्रिया सुरु भएपछि जिल्ला नेतृत्व हटाउनु विधानअनुसार हुनै सक्दैन,’ उनले भने, ‘त्यसैले उहाँलाई नै पुनःस्थापना गर्नुपर्छ।’

विधानको धारा ५० को ८ ले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगरपालिका कार्यसमिति, गाउँपालिका कार्यसमिति, नगरपालिका÷गाउँपालिका वडा कार्यसमिति, टोल कार्यसमितिका सभापतिहरुको मृत्यु वा राजीनामाको कारणले पद रिक्त हुन गएमा सम्बन्धित समितिका उपसभापति कार्यवाहक सभापति हुने उल्लेख छ। सोही जानकारीसहित महामन्त्री कोइरालाले बिहीबार बिहान सभापति देउवालाई भेट्नेछन्।

१३औं अधिवेशनबाट नवलपरासी सभापतिमा विष्णु लामिछाने निर्वाचित भए पनि राज्य पुनःसंरचनापछि जिल्ला विभाजित भएसँगै उनी बर्दघाटपूर्वका सभापति बनेका थिए। बर्दघाट सुस्तापश्चिमको जिम्मेवारी तत्कालीन उपसभापति पोखरेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App