२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कृषिको विकासका लागि संघ र प्रदेशबिच पाँचबुँदे समझदारी

लुम्बिनी –  संघीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारको कृषि मन्त्रालयबीच पाँचबुँदे समझदारी भएको छ। आइतबार र सोमबार संघीय मन्त्री र प्रदेशमन्त्रीबिच भएको छलफलले सो समझदारी कायम गरेको हो।

कृषिमन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासका लागि प्रदेशका विभागीय मन्त्रीसँग सुझाव लिन दुईदिने बैठक आयोजना गरेका थिए। बैठकले नेपालको कृषिको विकासका लागि पाँचबुँदे समझदारी कायम गरेको बताइएको छ। बैठकले कृषि विकासका लागि संघीय र प्रादेशिक मन्त्रालयबीच योजना, कार्यक्रम, बजेट निर्माण समन्वयात्मक ढंगले गरिने पहिलो समझदारी कायम गरेको छ।

यसैगरी समझदारीको दोस्रो बँुदामा कृषि विकासका योजना र कार्यक्रम कार्यान्वयनमा आवश्यक सहकार्य गर्ने, तेस्रो बुँदामा कृषि क्षेत्रको संरक्षण र विकासका लागि तीनै तहका सरकारबाट प्रदान गरिने सेवासुविधा र स्रोत परिचालनमा एकरूपता कायम गरिने समझदारी भएको छ। त्यस्तै, चौथो बुँदामा कृषि नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा संघ र प्रदेश सरकारबीच मन्त्री र सचिवस्तरीय संयन्त्र बनाउने, पाँचौं बुँदामा तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्न छिट्टै स्थानीय तहसँग समन्वय बैठक गर्ने समझदारी भएको छ।

मन्त्री भुसालले संघ–प्रदेश स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीसँग सुझाव लिएका हुन्। मन्त्री भुसालले कृषिप्रधान मुलुक भनेर परिचित नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने गरी कृषिको योजना अगाडि सार्ने रणनीति बनाएको बताएका छन्। उनले भने, ‘राष्ट्रिय पुँजीको विकासमा योगदान दिने हिसाबले तीनै तहका सरकारबीच आवश्यक सहकार्य तथा समन्वय गरेर निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कृषि मन्त्रालयले योजना बनाइरहेको छ।’ उनका अनुसार कृषिमा युवापुस्तालाई प्रत्यक्ष संलग्न गराएर नेपालका बाँझो बारी र खेतलाई हराभरा गराउने विषयमा योजना बनाइएको छ। बैठकमा सातवटै प्रदेशबाट सहभागी भएका कृषिमन्त्रीले आ–आफ्नो प्रदेश सरकारले कृषि क्षेत्रको सम्बन्धमा लिएको नीति, कार्यक्रम, योजना र बजेट सम्बन्धमा जानकारी गराएका थिए।

बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री प्रदेश १ का राम राना, प्रदेश २ का शैलेन्द्र साह, वाग्मती प्रदेशका दावा दोर्जे लामा, गण्डकी प्रदेशका लेखबहादुर थापा, प्रदेश ५ की आरती पौडेल, कर्णाली प्रदेशकी विनिता देवी चौधरी र सुदूरपश्चिम प्रदेशकी विमला केसीको सहभागिता थियो।रासस

प्रकाशित: २७ फाल्गुन २०७६ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App