७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

असन्तुष्ट पक्षद्वारा प्रशिक्षण बहिस्कार

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि तीव्र बन्न पुगेको छ। एक महिना लामो रस्साकक्सीपछि पार्टीको १४औं महाधिवेशनको कार्यतालिका विवाद सल्टाए पनि सभापति शेरबहादुर देउवाले विभाग र केही केन्द्रीय तथा आमन्त्रित सदस्य मनोनयनपछि विवाद तीव्र बन्न पुगेको हो।

आफ्नो पक्षको सहमतिबिनै सभापति देउवाले भटाभट विभाग र केन्द्रीय सदस्य मनोनितप्रति संस्थापनइतर समूहले असन्तुष्टि जनाएको छ। त्यति मात्र होइन पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको नीति तथा प्रशिक्षण विभागले बुधबारदेखि पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको जिल्ला उपसभापतिको एक दिने प्रशिक्षण कार्यक्रम पनि बहिस्कार गरेका छन्। असन्तुष्ट पक्षले कार्यक्रम बहिस्कार गरे पनि निधि संयोजक रहेको समितिले उपलब्ध जिल्ला उपसभापतिलाई प्रशिक्षण भने दिएको छ।

तर, असन्तुष्ट पक्षले भने १४औं महाधिवेशन प्रभावित गर्न संस्थापन पक्षले प्रशिक्षणसहितका कार्यक्रम राखेको ठहर गरेको छ। त्यस्ता कुनै कार्यक्रममा पनि सहभागी नहुने निष्कर्ष निकाल्दै १४औं महाधिवेशन केन्द्रित कार्यक्रमबाहेक अन्य कुनै कार्यक्रममा सहभागी नहुने र नहुन पनि निकटलाई आग्रह गरेको छ। ‘महाधिवेशनको कार्यतालिका आइसकेकाले त्यसलाई कसरी हुन्छ र्निधारित समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ,’ निकट नेताहरूको बुधबार बिहानको भेलामा नेता पौडेलले निकटसँग भने, ‘क्रियाशील सदस्यता बाँड्नुपर्ने जिल्ला सभापतिलाई प्रशिक्षणको नाममा काठमाडौं बोलाएर महाधिवेशन भाँड्न खोजिँदैछ, यस्ता कुराको हामीले विरोध गर्नुपर्छ। प्रतिवाद गर्नुपर्छ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान असन्तुष्ट पक्षीय नेताहरू, उपलब्ध जिल्ला सभापति तथा उपसभापतिहरूको भेलामा सहभागीले सभापति देउवाले महाधिवेशन भएको दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरू अहिले भटाभट गठन गरेर महाधिवेशन प्रभावित गर्न लागि परेको पनि निष्कर्ष निकालेका छन्। निकटहरूलाई खुसी बनाउन विभागको संयोजक तोकिएको भन्दै असन्तुष्ट पक्षले त्यसको औचित्य नभएको भन्दै सहभागी नहुने निष्कर्ष निकालेको छ। ‘ठिक समयमा ठिक निर्णय गर्न सकेन भने पार्टी धरापामा पर्छ,’ पूर्वमहामन्त्री सिंहले भने, ‘१४औं महाधिवेशनको कार्यतालिकापछि पार्टीमा निर्वाचन आचार संहिता लागू भइसकेपछि अब नियुक्ति, गठन गर्नु ठिक होइन।’

सभापति देउवाले विभागसहितका पार्टी निकाय गठनलाई निर्वाचन आचार संहिता अवज्ञा गरेर महाधिवेशन प्रभावित गर्न खोजिएको सिंहले आरोप लगाए। ‘अब बेमौसमको बाजा बजाउने होइन महाधिवेशनको वातावरण बनाउन लाग्नुपर्छ,’ सिंहले भने, ‘सभापतिले पार्टीको विधान भनेको मै हु जसरी निर्णय गरिरहनु भएको छ त्यो मान्य हुँदैन।’

पार्टी सभापति देउवा १४औं महाधिवेशनको तयारी गर्नुको साटो विभिन्न बहानामा कार्यतालिका सार्दै समय घर्काउने रणनीतिमा रहेको आरोप लगाउँदै असन्तुष्ट पक्षले संबैधानीक र कानुनी जटिलता देखाएर अहिलेकै समितिको कार्यकाल लब्याउने दाउमा रहेको पनि आशंका व्यक्त गरे। २०७७ फागुनमा होइन संवैधानिक व्यवस्थाअनुसार लिन पाउन थप छ महिनामा पनि महाधिवेशन नगराएर पार्टीको अस्थित्व संकटमा पर्न लाग्यो यसैलाई निरन्तरता दिउँ भन्ने रणनीतिमा रहेको असन्तुष्टको बुझाइ छ।

संस्थापन पक्षको उक्त रणनीतिलाई चिर्न सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्ने असन्तुष्ट पक्षको निष्कर्ष छ। उपसभापति नेतृत्वको समितिले आयोजना गरेको प्रशिक्षणमा सहभागी नहुन निकट जिल्ला सभापतिलाई निर्देशन दिँदै महामन्त्री शशांक कोइरालाले भने, ‘हामी अब महाधिवेशनबाहेक अन्त लाग्ने कुरा छैन। सबैको ध्यान महाधिवेशनमा केन्द्रीत गरौ यताउताको कुरा छैन अब।’

संस्थापनइतर समूहका नेताहरू १४औं महाधिवेशनमा मिलेरै अघि बढ्ने आश्वासन दिँदै भेलामा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्रको संघर्षकै रूपमा पार्टीको महाधिवेशनलाई उपयोग गर्नुपर्छ।’

संस्थापन इतर समुहको सहमतिबिनै सभापति देउवाले पछिल्लो एक सातामा डेढ दर्जन विभागको संयोजक, दुई केन्द्रीय सदस्य, ११ आमन्त्रित सदस्यसहित जेष्ठ नागरिक सभाका सदस्य मनोनित गरेका छन्। त्यसलाई इतर पक्षले महाधिवेशनलाई प्रभावित गर्न खोजेको निष्कर्ष निकालेछन्।

यसैबीच आगामी चैतमा पार्टीका क्रियाशील सदस्यलाई प्रशिक्षण दिने निर्णय गर्दै निधि नेतृत्वको समितिको बैठकले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि १० हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ। बैठकले सबै जिल्ला र १ सय३० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुलाई निर्देशनपनि दिएको छ

कांग्रेसले रोक्यो सबै कार्यक्रम
कोरोना भाइरस (कोबिड १९)को संक्रमण विश्वव्यापी रूपमा फैलिएको भन्दै कांग्रेसले पार्टीको १४औं महाधिवेशनका कार्यक्रमबाहेक सबै कार्यक्रम स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभाका कार्यक्रम स्थगित गरेको हो।

विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गर्दै कार्यक्रम स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्। ‘तर पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान चलाउने पनि कांग्रेसले जनाएको छ। त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ। सीमा नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न दोहो¥याउँदै भनेको छ,‘सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रूपले लिएर सरकारलाई एकातर्फ हामी खबरदारी गरिरहेका छौं।’

जोखिम सामना गर्न साझा राष्ट्रिय अभियान चलाउनुपर्नेमा जोड दिंदै कांग्रेसले त्यसका लागि आफ्नो दलको सरकारलाई पूर्ण सहयोग रहने जनाएको छ। ‘सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हामी हार्दिक अपील गर्दछौं,’ कांग्रेसले भनेको छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App