२५ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

'कोरोनाविरुद्ध चुस्त व्यवस्था मिलाऊ'

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस(कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको भन्दै सम्पूर्ण नेपालीलाई सतर्कता अपनाउन अपिल गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले विश्वव्यापी रूपमै महामारीको रूप लिएको कोरोनाविरुद्ध पूर्वतयारी तीव्र बनाउन सरकारलाई आग्रह गरेको हो।

दशा बाजा बजाएर आउन्न भन्ने पूरानो भनाइ रहेको स्मरण गराउँदै कांग्रेसले भनेको छ, ‘प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रूपमै महामारीको डंका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ।’

गम्भीर विश्व परिस्थितिप्रति नेपाल सरकार, सम्बन्धित निकायहरू, सबै राजनीतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका नेपालीलाई समेत सर्तकता अपनाउन कांग्रेसले अपिल गरेको छ। ‘विश्व स्वास्थ संगठन(डब्लूएचओ)ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस्,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी १४ बुँदे अपिलमा भनिएको छ,‘संक्रमण फैलिएका मुलुकसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस्।’

ठूला र समृद्ध राष्ट्रहरु समेत कोरोनासँग जुध्न संघर्षरत रहेको भन्दै छिमेकीहरूको प्रबन्धले हामी ढुक्क छौं भन्ने प्रकृतिको हास्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार महँगो पर्न सक्ने कांग्रेसले जनाएको छ। कांग्रेसले भनेको छ, ‘जोखिम सामना गर्न कुनै पनि ढंगको कमजोरी र सम्झौता नगर्न नेपाली कांग्रेस नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कता अपनाउन आग्रह गर्दछ।’

सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तराष्र्टि««य विमानस्थलको चेकजाँचको प्रक्रिया बिलकुलै कामचलाउ प्रकृतिको फितलो रहेको जनाउँदै कांग्रेसले प्रवेशद्वारमा कठोर ढंगको कडाइ गर्न पनि आग्रह गरेको छ। भाषण मात्र गर्ने तर सतर्कता नअपनाए स्थिति भयावह हुने भन्दै उसले भनेको छ, ‘सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस्।’

स्थलमार्गबाट नेपाल प्रवेश गर्ने केरुङ बाहेका तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारीको प्रति कांग्रेसले असन्तुष्टी जनाएको छ। ‘ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस,’ उसले भनेको छ, ‘केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अघि बढाइयोस्।’

संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘किट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने तर्फ सरकारको ध्यानाकर्षण गराएको छ। ‘संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढंगले उपचार र उद्दारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ,’ कांग्रेसले भनेको छ, ‘जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीलाई विशेष ढंगको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस्।’

मास्क अभाव हुन नदिन र बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न पनि सरकारले विशेष ध्यान दिनुपर्ने जनाउँदै खाद्यान्न संकट हुनसक्नेतर्फ सरकारले समयमै सतर्कता अपनाउन आग्रह गरेको छ। दक्षिण कोरियालगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढंगले फैलिएको जनाउँदै त्यहाँ रहेका नेपालीलाई सुरक्षित गर्न र अत्यावश्यक परे उद्दार गर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। ‘वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौं क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा विषय प्रवेश गरोस्,’ उसले भनेको छ।

प्रकाशित: २० फाल्गुन २०७६ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App