१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पक्षधरताले पत्रकारिताको गरिमा घटायो

खोटाङ – खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताले पक्षधरता (वायसनेस)ले पत्रकारिताको मूल्य घटाइरहेको बताएका छन्। प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले शनिबार दिक्तेलमा आयोजना गरेको ‘नागरिकको नजरमा मिडिया र पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले एकथरी पत्रकारले एउटा पार्टी पक्षको प्रचारात्मक समाचारलाई प्राथमिकता दिने र विपक्षी पार्टीको खेदो खन्ने प्रवृत्तिले पत्रकारिताको गरिमा घटाइरहेको बताएका हुन्। नेकपाका नेता एवं पूर्वसांसद टंक राईले पत्रकारिता अझै पनि विश्वसनीय बन्न नसकेको बताए। ‘पत्रकारले नेगेटिभ समाचारमा मात्र जोड दिइरहेको छ। पोजेटिभ विषयलाई पनि प्रमोसन गर्नुपर्छ,’ पूर्वसांसद राईले भने, ‘मिडिया संयमित र सुसंंस्कृत हुन सकिरहेको छैन। राष्ट्रपतिलाई तिमी भन्नु उपयुक्त होइन।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले एकथरी पत्रकारले सही लेख्ने गरे पनि अर्काथरी पत्रकारले गलत मनसायले समाचार लेख्ने गरेको गुनासो गरे। यस्तै, नेपाली कांग्रेसकी नेतृ डिल्लीकुमारी आचार्यले पत्रकार दलको कार्यकर्ताकै शैलीमा देखिनु दुःखद भएको बताइन्। समाजवादी पार्टीका अध्यक्ष टंक थापाले सत्तापक्षले पत्रकारितालाई आफू अनुकूल बनाउन खोज्दा गहन पत्रकारिताको अभाव खड्किएको बताए। राष्ट्रिय युवा संघका सह–संयोजक शरद राईले पत्रकारितामा राजनीति घुसेपछि पत्रकारिताको मूल्य घटेको औंल्याए।

पत्रकारलाई लाखौं जरिवाना भर्ने कानुन अमान्य
अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई लाखौं जरिवाना भर्ने कानुन मान्य नहुने बताए। मासिक १८ हजार तलब नपाउँदा आत्महत्या गर्नुपर्ने देशका पत्रकारलाई समाचार लेखेकै आधारमा लाखौं रुपैयाँ दण्डजरिवाना जायज नभएको बताएका हुन्। यस्तै, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले समाचार लेख्ने पत्रकारलाई ज्यानमारा सरहको सजाय मान्य नहुने बताए। प्रेससम्बन्धी कानुन दण्डैदण्डबाट ठीक लगाउन सकिन्छ भन्ने मनोविज्ञानबाट आएको महासचिव विष्टले बताए।

प्रकाशित: २७ माघ २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App