७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

नवउदारवादसँग लड्न नसक्ने पनि कम्यूनिष्ट हुन्छ ? : नेता आहुति

खोटाङ– कम्यूनिष्ट नेता बिश्वभक्त दुलाल (आहुति)ले नवउदारवादसँग लड्न नसक्ने कम्यूनिष्ट सच्चा कम्यूनिष्ट हुन नसक्ने बताएका छन्। खोटाङको दिक्तेलमा शनिबार आयोजित ‘नेपालमा कम्यूनिष्ट आन्दोलनको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा आहुतिले नेपाली कम्यूनिष्ट आन्दोलनले सही मार्ग समात्न नसकेको बताए।

‘नवउदारवाद अर्थतन्त्र मौलाउँदो छ। त्यही नवउदारवादलाई कम्यूनिष्टले पनि प्रवद्र्धन गरिरहेको छ,’वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालका संयोजक रहेका आहुतिले प्रश्न गरे, ‘साम्राज्यवादीसँग नलड्ने पनि कहीँ कम्यूनिष्ट हुन्छ? संवृद्धि भन्ने नारा झुटको खेती हो। नवउदारवादबाट कहिल्यै समाजवादमा पुग्न सकिन्न।’

आहुतिले नेपालका कम्यूनिष्ट आन्दोलनको रणनिती परिवर्तनको खाँचो औल्याए। चरित्रको हिसावले नेपालका कम्यूनिष्ट सही अर्थमा कम्यूनिष्ट नभएको आहुतिको भनाई थियो। ‘धेरै विषयमा नेपाली कम्यूनिष्ट आन्दोलन अस्पष्ट छ। केका लागि लड्ने भन्ने विषय भन्न सक्नु पर्छ,’ उनले भने, ‘राजाको समयमा राजासँग लड्छौँ भन्दा सुहाउँथ्यो। सामान्तीसँग लड्यौं भन्दा सुहाउँथ्यो। अबको आन्दोलन केका लागि हो भन्ने प्रष्ट छैन।’ उनले अहिलेका नेपाली कम्यूनिष्ट दलाल पुँजीवादविरुद्ध लड्न नसकेको आरोप लगाए।

अर्का वक्ता एवं पूर्वसांसद टंक राईले नेपाली कम्यूनिष्टको साम्यवादी दिशामा जाने धरातल कमजोर बनेको बताए। उनले सिद्धान्तमा भन्दा पनि स्वार्थलाई केन्द्रमा राखेर शक्ती आर्जनका लागि कम्यूनिष्ट मिलेको उल्लेख गरे। ‘हामी आदर्श भएर प्रस्तुत हुन सकेनौँ। बाहिर एउटाभित्र अर्कै चरित्र भएको पाखण्डी बन्यौँ,’ राईले भने, ‘आगामी दिनमा भावी पुस्ताले लिने विचारले कम्यूनिष्ट आन्दोलनको भविष्य निर्धारण गर्ने देखिन्छ।’

वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपाल १ नम्बर प्रदेश कमिटिले आयोजना गरेको अन्तरक्रियामा नेकपाका जिल्ला नेताको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: २६ माघ २०७६ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App