काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटीमा कुनै होटल नबन्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले यस्तो बताएक हुन्।
मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको पनि बताएका छन्। भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि जनशक्ति र स्रोत, साधन मात्रै नभएर बजेट पनि न्यून रहेको उनले बताए। मन्त्री भट्टराईले नेपालको पर्यटन प्रवद्र्धन र भ्रमण वर्षलाई प्रभावकारी बनाउन जनशक्ति थप्दै स्रोत साधन बढाउने कुरामा जोड दिने प्रतिवद्धता समेत जनाएका छन्।
उनले कारोना भाइरसका कारण चीनबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सम्भव नहुने भएकाले अन्य बैकल्पिक बजारको खोजी भएको बताएका छन्। चीनबाट यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भएपनि कोरोना भाइरसले पूर्ति हुने सम्भावना नरहेको र नीजि क्षेत्रहरुसँग छलफल गरी बैकल्पिक बजार खोज्न योजना बनिरहेको उनले बताए ।
बैठकमा मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिले भन्दा धेरै सुधार आएको बताएका छन्। तराई क्षेत्रमा रहेका राजविराज विमास्थल बाहेक अन्य विमानस्थलहरुमा रात्रिकालिन उडान सुरु भएको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमास्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो कार्यप्रगति राम्रो रहेको बताएका छन्।
प्रकाशित: २२ माघ २०७६ १०:४० बुधबार