२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

अग्नि सापकोटाका उकाली ओराली : स्कुलदेखि सभामुखको कुर्सीसम्म

काठमाडौं- लामो समय शिक्षण पेशामा विताएका अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका छन्। उनका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि आइतबारको संसद बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्विरोध सभामुख चयन भएको घोषणा गरे।

सापकोटाको जन्म २०१४ फागुन २४, सिन्धुपाल्चोकको कुविण्डेमा तिलमाया सापकोटाको कोखबाट भएको थियो। १५ वर्ष शिक्षण पेशमा विताएका उनी सात वर्षसम्म जनजागृति माविको प्रधानाध्यापक समेत भए।

शिक्षण पेशा छोडेर उनी पूर्णकालिन राजनीतिमा होमिएका थिए। २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) को सदस्यता प्राप्त गरेका सापकोटा माओवादी र एमालेको एकता पछि बनेको नेकपाका स्थायी समिति सदस्य हुन्।

२०४८ मा  शिक्षकबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय भएका सापकोटा २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य बने। शिक्षणबाट राजनीतिमा तानिएका उनको 'करिअर' सफलताका साथ नै अगाडि बड्यो। पार्टी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र रहेका सापकोटा २०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य बने। त्यस पछि २०५१ मा बनेको  नेकपा (माओवादी) मा समेत उनी केन्द्रीय सदस्य सदस्य रहे। २०५२ फागुन १ देखि नेकपा माओदीले जनयुद्धको घोषणा गर्‍यो। त्यस अघि माघदेखि नै सापकोटा भूमिगत भए।– जनयुद्वका प्रारम्भिक दिनमा उनी पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज बने। माओवादीले २०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन गर्‍यो। त्यस सम्मेलनमा उनी पोलिट्व्युरो सदस्य बने।

२०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि सरकार र माओवादीबीच बार्ताको वातावरण बन्यो। दुवै पक्षले युद्धविराम गरेर वार्ताको टेवुलमा बसे। माओवादी तर्फको बार्ता टोलीको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए। उक्त तीन सदस्यीय वार्ता टोलीमा सापकोटा समेत थिए। अर्का सदस्य अर्घाखाँचीका टोपबहादुर रायमाझी थिए।   

रायमाझी युद्धका अन्तिम दिनमा झण्डै मृत्युको मुखबाट बाँचेका थिए। २०६२ चैत्र १४ गते नेकपा माओवादीले सिन्धुपाल्चोकको ठोकर्पामा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा प्रमुख वक्ता उनै सापकोटा थिए। तर यो कार्यक्रम सुखद भने हुन सकेन। यता जनआन्दोलन तातिरहेको थियो। त्यसलाई उर्जा दिन माओवादीहरु छापामार सहित शहर नजिक नजिक खुलारुपमा कार्यक्रम गर्दै थिए। ठोकर्पाको कार्यक्रममा तत्कालिन शाही सेनाले हेलिकप्टरबाट आक्रमण गर्‍यो। सापकोटा तीन ठाउँमा गोली लागेर घाइते बने।

माओवादी शान्ति प्रक्रियामा आए पछि भएका तीन वटै निर्वाचनमा उनले पछि फर्कनु परेको छैन। २०६४ – चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत ल्याएर संसद भनव छिरेका उनी २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री बने।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट दोस्रोपटक निर्वाचित भए। तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी हुने सापकोटा एकमात्र सांसद थिए। त्यसपछि उनी २०७३ मा वन तथा भू–संरक्षण मन्त्री बने।

२०७४ सालतमा भएको  प्रतिनिधि सभामा विजयी भएर उनले ह्याट्रिक गरे। यो पटक  सापकोटा संसदको सभामुखनै निर्वाचित भए।

प्रकाशित: १२ माघ २०७६ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App