११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

तिलागुफा नगरपालिकाकी उपप्रमुख चार महिनादेखि सम्पर्कविहीन

तिला गुफा नगरपालिकाकी उपप्रमुख दन्त नेपाली (दर्शना ) । तस्बिरः नागरिक

जुम्ला- कालीकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) नगरपालिकाबाट सम्पर्कविहीन भएको चार महिना वितिसक्यो। उनी नत नगरपालिकाको सम्पर्कमा छिन्। नत नगरपालिका फर्केकी छिन्। असोज महिनामा काठमाडौं जाने भनेर हिडेकी उपप्रमुख नेपाली नगरपालिकामा नफर्केकी हुन्। उपप्रमुख लामो समयमसम्म सम्पर्कमा आउन नसकेपछि दैनिक काम काजमा समेत असर परेको तिला गुफा नगरपालिकाले जनाएको छ।

उपप्रमुख नेपालीले असोज महिनामा काठमाडौं जान लागेको खबर नगरपालिका प्रमुख रतनबहादुर शाहीलाइ गरिन्। तर अहिले कुन अवस्थामा हुनुहुन्छ, कता हुनुहुन्छ जानकारी नै पाउन सकेका छैनन्, अध्यक्ष शाही भन्छन्, ‘उपप्रमुख नहुँदा अहिले नगरपालिकाको काममा असर परिराखेको छ। ’‘जनताका काम दैनिक रुपमा गर्नुपर्छ। उपप्रमुख नेतृत्वमा न्यायिक समिति छ। ‘उपप्रमुख नहुँदा समितिका काम प्रभावित भएका छन्। जनता उपप्रमुख खोज्छन्, उपप्रमुख सम्पर्कमा छैनन्।’

नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्षलाई न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समिति र राजश्व परामर्श समितिको संयोजकको जिम्मेवारी तोकिएको छ। अहिले यी कामहरु अलपत्र परेका छन्, प्रमुख शाही भन्छन्, ‘उपप्रमुख नहुँदा योजना कार्यान्वयनमा समेत समस्या आयो’ उनी संयोजक रहेका सबै समिति अलपत्र जस्तै छन्।’

अहिले नगरपालिकाभित्रका कार्य सम्पन्न भएका योजनाको भुक्तानीमासमेत हुन सकेको छैन। उपप्रमुख नेतृत्वको योजना अनुगमन समितिको संयोजक नै नहुँदा योजनाको काम अघि बढ्न सकेको छैन। उपप्रमुख नेपाली विदेश जान लागेको संकेत पाएपछि बोलाएर छलफल गरेको कालीकोटका प्रतिनिधि सभाका सांसद दुर्गबहादुर रावत बताउँछन्। उनले भने, ‘विदेश जान लागेको बारेमा छलफल गरेको थिए। त्यो बेला हल्ला मात्र भएको भन्दै बताउन चाहिनन्।’

प्रतिनिधि सभा सांसद रावत विदेश जाने भए उपप्रमुखबाट राजीनामा दिएर जान अनुरोध गरेको बताए।
सामाजिक संजाल (फेसवुक)मा उपप्रमुख नेपालीले सार्वजनिक गरेको तस्बिरका आधारमा अमेरिका गएको आंशका गरिएको छ। तर, सामाजिक सञ्जालमा सम्पर्क गर्दा केही जवाफ आउदैनन्। त्यसैले कहाँ छिन् एकिन भन्न सकिने अवस्था नरहेको नगरपालिका प्रमुख शाही बताउँछन्।

‘सम्पर्कका लागि धेरै प्रयास गर्दा पनि उहाँले जवाफ फर्काउनु भएन।’ प्रमुख शाहीले भने, ‘अहिले कहाँ हुनुहुन्छ एकिन भन्न सकिदैँन्। सम्पर्कविहीन नै हुनुहुन्छ।’ स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धिको आदेश, २०७४ को दफा ९ को उपदफा ३४ मा नगरपालिका प्रमुखले तीन दिनभन्दा बढी समयका लागि आफ्नो नगरपालिका क्षेत्र छाडी बाहिर जानुपर्दा उपप्रमुखलाई कार्यभार सुम्पी जानुपर्नेछ भनी उल्लेख छ। तर  उपप्रमुखका विषयमा कुनै बुँदा नसमेटिएका कारण समस्या भएको नगरपालिका बताउँदछ। २०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट एक हजार ८ सय ४३ मत ल्याएर विजयी भएकी थिइन्।

चार महिनासम्म सम्पर्कविहीन हुदाँ पनि कुनै हल्ला थिएन्। तर राष्ट्रिय सभाको निर्वाचन नजिकिदै गर्दा उपप्रमुख नेपालीको खोजी भएको हो। आफूले मतदान गरेर जिताएकी उपप्रमुख नै सम्पर्कविहीन भएपछि मतदाता निराश छन््। पटक पटक सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्न खोजेपनि सम्पर्कमा आउन नचाहेको स्थानीय बताउँछन्। यो नगरपालिका भौगोलिक रुपमा निकै विकट भएकोले पनि काम गर्न समस्या छ। उपप्रमुख जितेपछि दर्शना कमै नगरपालिकामा बस्ने गरेको स्थानीय बताउँछन्। यो स्थानीय तह जुम्ला र कालिकोट सिमानामा पर्दछ।
 

प्रकाशित: ९ माघ २०७६ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App