९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ। नेकपाभित्र सभामुखको उम्मेदवार विवादले संसद् एक महिनादेखि अनिर्णयको बन्दी बनेको थियो।

नेकपाभित्र विवाद सल्टिएपछि सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकले नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउने भएको छ। सोमबारको बैठकमा नयाँ सभामुख निर्वाचनको कार्यतालिका आउने संसद् सचिवालय स्रोतले जनाएको छ। तर आइतबार साँझसम्म निर्वाचन प्रक्रियाका लागि सचिवालयले सम्भावित कार्यसूची बनाएको छैन। ‘उपसभामुखले राजीनामा नदिएको अवस्था एकातिर छ भने कार्यसूची बनाउने आदेश पनि उपसभामुखबाट आएको छैन त्यसैले सम्भावित कार्यसूची बनेको छैन’, संसद् सचिवालय स्रोतले भन्यो।

नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ। स्रोतका अनुसार उपसभामुखले सोमबारसम्म राजीनामा दिने तयारी छ। उनले राजीनामा दिएमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेर सभामुख निर्वाचन कार्यक्रम अघि बढ्नेछ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका महन्थ ठाकुरलाई तयार रहन भनिएको छ।

सभामुखको निर्वाचन प्रक्रिया सोमबार अघि बढे पनि माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनपछि मात्रै सभामुखको निर्वाचन हुने स्रोतले जनाएको छ। माघ ८ गते नेकपाका प्रत्येक प्रदेशका इन्चार्जलाई प्रदेशसभा निर्वाचनका लागि आआफ्नो प्रदेशमा जान नेकपाले निर्देशन जारी गरेको छ। सभामुखको निर्वाचनका लागि कम्तीमा तीन दिन समय आवश्यक पर्नेछ। जसका कारण कम्तीमा ८ गतेमात्रै निर्वाचन गर्न सकिनेछ। तर सो दिन सांसदहरु प्रदेशसभामा जाने भएपछि निर्वाचन सम्भव नभएको स्रोतले बतायो। सोमबार प्रतिनिधिसभा बैठकले सभामुख निर्वाचन अधिकृत र निर्वाचनको मिति तोकेपछि सभामुखमा उम्मेदवारी दिन एक दिन मनोनयन दर्ताको समय तोकिनेछ। सभामुख र उपसभामुख दुवै पद रिक्त हुने भएकाले एकैसाथ दुवै पदका लागि संसद् सचिवालयले निर्वाचन प्रक्रिया अघि बढाउन सक्ने सम्भावना पनि रहेको स्रोतले जनाएको छ। तर उपसभामुख कसलाई बनाउने भन्नेमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन।

प्रकाशित: ६ माघ २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App