८ वैशाख २०८१ शनिबार
राजनीति

तुम्बाहाम्फेको अडान जायज छ,सभामुखका लागि सक्षम पनि हुनुहुन्छ: प्रवक्ता श्रेष्ठ

पर्वत - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुखको गाठो केही दिनमा फुक्ने बताएका छन्। उनले सभामुख कुन पूर्व (एमाले,माओवादी)ले लिने भन्ने कुरा नभएको श्रेष्ठले बताए। प्रेस संगठन पर्वतले आइतबार पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले सभामुख पद बर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई दिँदा न्याय हुने खुलाए।

‘महिला त हुँदै हो, उपसभामुखज्यु विद्धान हुनुहुन्छ, कानुनको ज्ञाता हुनुहुन्छ, सक्षम हुनुहुन्छ, त्यसैले उहाँ हुँदा कुनै फरक पर्दैन’ श्रेष्ठले भने। उनले अहिले उपसभामुख तुम्बाहाम्फेले लिएको अडान जायज भएको पनि धारणा राखे। ‘उपसभामुखले लिएको अडान जायज छ, उहाँ सभामुख चलाउन सक्षम पनि हुनुहुन्छ’ उनले दोहो-याउँदै भने।

उनले उपसभामुखले राजिनामा नदिएसम्म नेकपाबाट सभामुख नहुने भन्दै पार्टीको निर्देशनअनुसार तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताए। ‘उहाँले सभामुखमा म हुनुपर्छ भन्ने कुरा जायज छ तर उहाँले उपसभामुखबाट पहिले राजीनामा दिनुपर्छ, उहाँको राजीनामा बिना नेकपाको सभामुख बन्न सक्दैन’ उनले भने।

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओबादीबाटै सभामुख बनाउनुपर्ने अडान लिइरहेका बेला दाहालनिकट मानिएका श्रेष्ठले सभामुख पदमा कुन पूर्वले लिने भन्ने कुरा गलत भएको जिकिर गरे। ‘पूर्व भन्ने कुरा आवश्यक परे अब पार्टीको इतिहास र दस्तावेजमा मात्रै रहन्छ’ श्रेष्ठले भने–‘पद विभाजन गरेर यो पूर्व र त्यो पूर्व भन्ने गर्नुहुँदैन।’ पछिल्लो समयमा विवादमा परेको एमसिसिको बारेमा टिप्पणी गर्न नचाहेका श्रेष्ठले त्यो नेकपाले केही दिनमा टुंगो लगाउने बताए।

श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आगामी महाधिवेशनबाट सहमतिमा पद विभाजन हुनसक्ने संकेत गरे। ‘अहिले पार्टीभित्र संक्रमणकाल जारी छ, आगामी महाधिवेशनबाट पार्टी एकताकै भावनाअनुसार कमिटि बन्छ’ श्रेष्ठले भने। पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, पर्वतका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पदम गिरी, राष्ट्रियसभा सदस्य पदका उम्मेदवार भगवती न्यौपाने उपस्थित थिए। श्रेष्ठ प्रचारप्रसार र कार्यकर्ता भेटघाटका क्रममा पर्वत आएका हुन। उनले शनिबार पर्वतमा नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिएका थिए।

प्रकाशित: ५ माघ २०७६ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App