९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एसएसपीको निगरानी गर्न एसपीको कमाण्ड

काठमाडौं – महानगरीय प्रहरी कार्यालय(मेट्रो) रानीपोखरीले काठमाडौंका तीनवटै जिल्ला प्रहरी कार्यालयको निगरानी गर्न विशेष टोली गठन गरेको छ। एसएसपीको कमाण्डमा रहने महानगरीय प्रहरी परिसर निगरानी गर्न एसपीको कमाण्डमा विशेष टोली गठन गरेको हो।

काठमाडाैँ र ललितपुर परिसरमा एसएसपीको कमाण्ड रहेको छ। भक्तपुर जिल्ला प्रहरी कार्यालयको प्रमुख एसपी रहेका छन्। यी सबै जिल्लाको निगरानीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भने एसपी रेवती ढकालको नेतृत्वमा ‘पर्फर्मेन्स अडिट टिम’ नाम दिएर विशेष टोली गठन गरेको हो। सो टोलीमा ५ जना सदस्य रहेका छन्। ‘आन्तरिक शुद्धीकरण र कार्यसम्पादनमा कमजोरी हुन नदिन विशेष टोली बनाइएको हो,’ कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

उनका अनुसार सो टोलीले अपराध अनुसन्धानमा प्रहरी परचालन र सेवा प्रवाहमा प्रभावकारिताको अनुगमन गर्र्नेछ। कार्यक्षेत्रमा खटिएका कर्मचारीले प्रहरी आचरणविरुद्धको कम गरेको पाइए वा दायित्वमा लापारबाही गरेको पाइए उनीहरूलाई कारबाहीको दायरामा ल्याउन विशेष टोलीले सहयोग गर्नेछ। ‘आर्थिक अनुशासनमा शून्य शहनशीलताको नीति लिएर अडिट टिम बनाइएको हो यसले प्रहरीको कामलाई नै सहयोग गर्नेछ,’ डिआइजी पोखरेलले भने।

निरीक्षणका क्रममा आर्थिक अनियमितता, सेवाग्राहीसँग गलत व्यवहार वा मादक पदार्थ सेवा गरेको भेटिए टोलीले प्रहरीलाई नै पक्राउ गर्न सक्नेछ। ‘पर्फर्मेन्स अडिट टिम’ जुनसुकै बेला पनि अनुगमनमा निस्कन सक्ने बताउँदै पोखरेलले हरेक प्रहरी युनिटको प्रोफाइल तयार पारिनुका साथै अडिटको आधारमा नियमित सुपरीवेक्षण उनको भनाइ छ। प्रहरी परिसर काठमाडांै ललितपुरका हिरासत, बृत्त र प्रभागको हिरासतको समेत अनुगमन गर्ने बताइएको छ। डिआइजी पोखरेलका अनुसार सो टोली जुनसुकै बेला कार्यालय नीरिक्षणको क्रममा निस्कनेछ।

यसअघि उपेन्द्रकान्त अर्याल प्रहरी महानिरीक्षक भएको बेला पनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मार्सल टिम गठन गरेर काठमाडौ उपत्यकाको तीन वटै जिल्लाको अनुगमन गरेको थियो।

जवानको मेसमा खाना खान निर्देशन
प्रहरी कार्यालय रानीपोखरीमा आएलगत्तै डिआइजी पोखरेलले कार्यालयमा कार्यरत उच्च तहका प्रहरी अधिकृतमध्ये पालैपालो एक÷एक जनाले हरेकदिन जवानको मेसमा खाना खान निर्दैशन दिएका छन्। संगठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद रहेको गुनासो बढ्दै गएपछि गुनासो कम गर्न सो निर्दैशन दिएको र आफू पनि कुनै न कुनै दिन जवनाकै मेसमा खाना खाने बताएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडाैँ, ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षण गर्दै डिआइजी पोखरेलले माथिल्लो दर्जाका प्रहरी कर्मचारीले हप्ताको कम्तीमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने पनि निर्देशन दिएका हुन। डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताए। ‘समस्याको समाधान संगठभित्रै खोज्नुपर्छ यसलाई बाहिर लगेर समस्या समाधान हुँदैन,’ उनले भने।

डिआइजी पोखरेलले संगठनभित्रका समस्यालाई बाहिरी प्रचारको विषय नबनाउन पनि प्रहरी कर्मचारीलाई सचेत गराएका छन्। प्रहरी कर्मचारीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै डिआइजी पोखरेलले आफ्नो गलत स्वार्थ र गलत आचरणका कारण जानी जानी गल्ती गर्ने प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने चेतावनी दिँदै उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेसमेत बताएका थिए।

घुमुवा खारेज
डिआइजी पोखरेलले महानगरीय प्रहरी कार्यालयअन्र्तगत रहेका सादा पोसाक (घुमुवा)प्रहरी नराख्ने भएका छन्। कार्यालय आफंैले डिएसपीको नेतृत्वमा २५ जनाको घुमुवा टोली परिचालन गर्दै आएकोमा बदेखि घुमुवा नराख्ने भएको हो। ‘सूचना संकलनका लागि खटाइएको घुमुवा टोली खारेज भएका छन्। उनीहरूलाई नियमित डिउटीमा खटाइएको छ। सूचना संकलन गर्ने नाममा अबदेखि सादा पोसाकका प्रहरी खटिने छैनन्,’ डिआइजी पोखरेलले भने। घुमुवा प्रहरीकै कारण बद्नाम हुुदै आएको प्रहरीमा यसले सकारात्मक प्रभाव पार्ने डिआइजी पोखरेलको दाबी गरेका छन्।

प्रकाशित: २४ पुस २०७६ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App