२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुग्न लाग्यो : ऊर्जामन्त्री पुन

खोटाङ – ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युतमा आत्मनिर्भर बन्दै गएको बताएका छन्। ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निरिक्षणका क्रममा मंगलबार खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडाको रभुँवामा आयोजित कार्यक्रममा ऊर्जामन्त्री पुनले आगामी वर्षदेखि नेपालले छिमेकी देशबाट विजुली ल्याएर बाल्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका हुन्।

देशका विभिन्न स्थानमा साना तथा ठूला किसिमका जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेकाले नेपाल यस आर्थिक वर्षको अन्त्यबाटै विद्युत निर्यात गर्ने अवस्थामा पुग्ने मन्त्री पुनले दाबी गरे। ‘यो सरकार आउनुअघि नौ सय मेगावाट विद्युत थियो, दुई वर्षमा चार सय मेगावाट थप गरेर १३ सय मेगावाट पुगेको छ,’ मन्त्री पुनले भने, ‘यसै वर्ष एक हजार मेगावाट विद्युत उत्पादन गर्दैछौँ। अब नेपाल छिमेकबाट विद्युत ल्याएर बाल्ने अवस्थामा हुँदैन। यो वर्षको अन्तिमदेखि नेपालको आफ्नै बिजुली खपत गरेर बचत भएको बिजुली भारत, बंगलादेश लगायतका बजारमा पु-याउने गरी काम गरिरहेका छौँ। अब हामी विद्युतमा चाडै आत्मनिर्भर हुनेछौँ।’

मन्त्री पुनले आगामी पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको संकल्प पूरा गर्नेगरी काम भइरहेको उल्लेख गरे। उनले यस वर्ष तराई, मधेस र सहरी क्षेत्रका ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणाको तयारी गरिएको बताए। आगामी दुई वर्षभित्र खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायतका पहाडी जिल्लाका घर–घरमा उज्यालो पु-याउने पुनको भनाई थियो। मन्त्री पुनले मध्यम वर्गीय परिवारलाई सस्तोमा विद्युतीय चुल्हो र १० युनिटभन्दा कम विद्युत खपत गर्ने १० लाख परिवारलाई निःशुल्क विद्युत उपलव्ध गराउने तयारी भइरहेको बताए। ‘हाल ८८ प्रतिशत घरमा उज्यालो पुगेको छ। १२ प्रतिशतमा पुग्न बाँकी छ,’ उनले भने, ‘गरिबीको रेखामुनि रहेका जनताले पनि सजिलै उज्यालो बाल्न सक्ने गरी काम भइरहेको छ। बिजुलीको खपतबाट पेट्रोल, डिजेल र ग्याँस आयात विस्थापन गरेर देशलाई आर्थिकरूपमा सम्पन्न बनाउने बाटोमा सरकार अघि बढेको छ।’

प्रभावित क्षेत्रका सांसद्, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाली सेनाको हेलिकोप्टरबाट आयोजनास्थल निरीक्षण गरेका मन्त्री पुनले दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी)बाट करिब ६० अर्ब ऋण सहयोग प्राप्त हुने र बाँकी एक खर्ब रकम नेपाल सरकार, विद्युत प्राधिकरण, सञ्चयकोष तथा बैंकबाट जुटाएर आयोजना सफल पार्ने बताए।

ऊर्जामन्त्री पुनले दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा स्थानीय जनताले पनि लगानी गर्ने वातावरण बनाउने बताए। ‘प्रदेश, स्थानीय तह, समन्वय समिति र स्थानीय जनताले पनि लगानी गर्ने वातावरण बनाउँछौँ। त्यो वातावरण बन्यो भने यहाँका जनताले लाभ लिने वातावरण बन्छ। त्यसका लागि हामी प्रयत्नरत छौँ,’ पुनले भने, ‘आयोजनालाई अधिकतम आकर्षक बनाउने हाम्रो प्रयास हुनेछ।’ कार्यक्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका संघीय तथा प्रदेश सांसद् लगायतले आयोजनालाई जनमैत्री बनाउन आग्रह गरेका छन्।

प्रकाशित: २३ पुस २०७६ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App