काठमाडौं – न्यायपरिषद्को सदस्यमा बरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्का मंगलबार नियुक्त भएका छन्। संसदीय सुनुवाइ समितिले अनुमोदनपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद् सदस्यमा नियुक्त गरेकी हुन्। संविधान अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले निरालालाई नियुक्तिको सिफारिस गरेका थिए।
यही पुस १३ गते बसेको बैठकले परिषद्को सदस्यमा मन्त्रिपरिषद् वैठकले सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले निरालालाई आइतबार सर्वसम्मतले अनुमोदन गरेको थियो। १० दिनसम्म गरिएको उजुरी आह्वानमा निरालाविरुद्ध कुनै पनि उजुरी परेको थिएन। ७६ वर्षे निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता नियुक्त भई २०६२ पुस ११ देखि २०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता भएर काम गरेका थिए।
प्रकाशित: २३ पुस २०७६ ०१:४४ बुधबार