१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं– समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

अध्यक्ष उपेन्द्र यादवले बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन्।

बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे।

बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालयमा बालकुमारीमा बसेको पदाधिकारीको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

‘आज बसेको पार्टी कार्यकारिणी बैठकले संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री के.पि.शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजकै मिति देखि लागू हुने गरी संसदमा प्रतिपक्षमा रही रचनात्मक र सृजनात्मक रूपले सकारात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ’ जारी विज्ञप्तिमा उल्लेख छ। 

पार्टीका तर्फबाट उपप्रधानमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अध्यक्ष उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इत्तिह्याक राईले हिजो राजीनामा दिई सकेका छन्। प्रतिनिधिसभा १७ सांसद रहेको समाजवादी पार्टीले सरकार परित्याग गरेसंगै ओली सरकारको दुई तिहाई मत गुमेको छ।

यस्तो छ, प्रेस विज्ञप्ति

तत्कालिन सङ्घीय समाजवादी फोरम , नेपाल तथा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेष्ठ १४ गते संविधान संशोधनका साथै मधेसी, आदिवासी जनजाति, थारु लगायत विभिन्न आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरु समेत सम्बोधन गर्ने शर्तसहित दुईबुदे सहमतिका आधारमा मात्र हाम्रो पार्टी सरकारमा सामेल भएको व्यहोरा अवगतै छ। यसै सन्दर्भमा हामीले मन्त्रिपरिषद् बैठक तथा संसदमा समेत पटक–पटक यी विषयहरु प्रवेश गराउनुका साथै संविधान संशोधन लगायतका विषयहरु राखी प्रधानमन्त्री समक्ष स्मरण–पत्र पनि दिएका थियौं। यसैक्रममा मिति २०७६ पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविद्हरू सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न उपप्रधानमन्त्री एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतमा पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषदको बैठकमा प्रस्ताव प्रस्तुत गरेको थियो। यस प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरी दुईबँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रूपमा तोडेको प्रष्ट भएकाले हाम्रो पार्टी २०७६ पुस ८ गते नै सरकारबाट वहिर्गमन भएको व्यहोरा जानकारी नै छ। यस परिस्थितिमा आज बसेको पार्टी कार्यकारिणी बैठकले संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री के .पि. शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजकै मिति देखि लागू हुने गरी संसदमा प्रतिपक्षमा रही रचनात्मक र सृजनात्मक रूपले सकारात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ।’

प्रकाशित: ९ पुस २०७६ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App