१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुख निर्वाचनको मिति नतोकिने

काठमाडौं – संसद्को उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ। अपराह्न ४ बजेबाट दुवै सदनको बैठक नयाँ बनोश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको दुईवटा सभाहलमा बस्दैछ। प्रतिनिधिसभाको शुक्रबारको बैठकले सभामुखको निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नुपर्ने भए पनि त्यसको सम्भावना भने देखिएको छैन। सभामुखको उम्मेदवारका विषयमा नेकपाभित्र टुंगो लाग्न नसकेपछि प्रतिनिधिसभाको अर्को बैठक एक साता पछि धकेलिने देखिएको छ। संसद् सचिवालय स्रोतले भन्यो, ‘शुक्रबारसम्म थप केही प्रगति नभएमा संसद्को अर्को बैठक पुस ९ गते बस्ने सम्भावना छ, त्यो समयसम्म कुनै सहमति भएमा त्यो बैठकले मात्रै सभामुखको निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नेछ।’ पूर्वसभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेका कारण सभामुख पद असोजदेखि रिक्त छ।

प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्न उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार १ बजे कार्य व्यवस्था परामर्श समितिका सदस्यसँग छलफल गर्ने भएकी छन्। उपसभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन नमिल्ने भएपछि कार्य व्यवस्था परामर्श समितिका सदस्यसँगको बैठक बस्ने भनिएको छ। सभामुख नभएका कारण सभाको अध्यक्षता गर्ने काम उपसभामुखले नै गर्ने भएकी छन्।

कार्य व्यवस्था परामर्श समितिका सदस्यको बैठकले शुक्रबारको कार्यसूचीमा सभामुख पदको निर्वाचनसम्बन्धी विषयमा छलफल गर्ने स्रोतले बतायो। प्रतिनिधिसभामा विचाराधीन विधेयकको अवस्थामा, उपसभामुखबाहेक अन्य अध्यक्षता गर्ने सात सदस्यको मनोनयन गर्ने र अन्य विषयमा कार्य व्यवस्था परामर्श समितिका सदस्यसँग छलफल हुने भएको संसद् सचिवालय स्रोतले बताएको छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० बमोजिम सभामुखले आफू तथा उपसभामुको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा ७ जना सदस्यलाई मनोनित गर्नसक्ने व्यवस्था भएका शुक्रबारको बैठकमा कारण अध्यक्षता गर्ने व्यक्तिको मनोनयन गरिनेछ।

प्रतिनिधिसभाको कार्यसूचीमा अधिवेशन प्रारम्भ भएको दिन दलीय आधारमा छलफल गर्ने विषय नराख्ने तयारी भएको छ। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइनेछ। शुक्रबारको बैठकमा राष्ट्रपति कार्यलयबाट मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी पत्र पनि सभाको अध्यक्षता गर्ने व्यक्तिले पढेर सुनाउनेछन्। बैठकको सुरुमा एक मिनेट ज्ञात अज्ञात सहिदप्रति मौन धारण गरिनेछ। त्यसपछि बजेट अधिवेशन अन्त्य पछि निधन भएका पूर्व सांसद्को शोक प्रस्ताव पारित गरिनेछ। एमालेका पूर्व सांसद् हरि वैरागी, एमालेकी कमला सुवेदी, कांग्रेसका पूर्व सांसद् रामलखन महतो, कांग्रेसका पूर्व सांसद् रामेश्वर ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गरिनेछ। राष्ट्रियसभाले भने पहिलो बैठकमा सबैदलका संसदीय दलका नेतालाई भनाइ राख्न समय दिने जनाएको छ। राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले शुक्रबारको संसद् बैठकको कार्यसुची तय गरेको छ। यो सभामा पनि राष्ट्रपतिको अधिवेशन आह्वान पत्र, मन्त्रिपरिषद् पुर्नगठन सम्बन्धी पत्र, र मृतक सांसदप्रति शोक प्रस्ताव पारित गरिनेछ। सभाको अध्यक्षता गर्ने तीन जना सदस्यको नाम भने पुरानै कायमै रहनेछ। यो सभाको नियमावलीमा एउटा अधिवेशनमा तोकिएका अध्यक्षता गर्ने सदस्यको नाम सधैंभरि कायम रहने व्यवस्था छ। पहिलो अधिवेशनमा सिफारिस भएका तीन जनाको नाम अहिलेसम्म कायमै छ।

प्रकाशित: ४ पुस २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App