१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

'परिवर्तित संघिय लोकतान्त्रिक गणतन्त्रमा धमिरा र ग्रहण लाग्यो'

रूपन्देही- मानवकर्मी कृष्ण पहाडीले परिवर्तित संघिय लोकतान्त्रिक गणतन्त्रमा धमिरा र ग्रहण लागेको बताएका छन्। उनले संघियता पछि बनेको तीन तहका सरकारबाट आशा लाग्दो काम नभएको भन्दै राम्रो संकेत नदेखिएको टिप्पणी गरे।

मानव अधिकार तथा शान्ति समाजले दाङमा सम्पन्न २२ औं परिषद बैठकपछि आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारकर्मी पहाडिले दल र व्यवस्थामा धमिरा लाग्न सुरू भएकाले नागरिक समाज सजग हुने बेला आएको बताए। 'हाम्रो व्यवस्थामा धमिरा लाग्न थाल्यो, दलहरूमा सुधार देखिएन, यसले लोकतन्त्र धरापमा पर्दैछ' उनले भने।

उनले तीन तहको सरकारमा भ्रष्टाचारको समानता देखिएको टिप्पणी गरे। उनले खर्चिलो निर्वाचन प्रणालिका कारण भ्रष्टाचार मौलाएकाले यसबारे सत्तासिन र प्रतिपक्ष कुनै पनि दलका नेता सुध्रन नचाहेको बताए। 'आवधिक निर्वाचन नै लोकतन्त्रको सुन्दर पक्ष हो, तर भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने प्रवृतिले कुशासन निम्त्याउछ' उनले भने।

उनले देशमा संकट बढ्दै गएको भन्दै मानव अधिकारवादिहरूको आवश्यकता पछि झन् बढ्दै गएको बताए। उनले विप्लव समूह र सरकार दुवैको रणनितिक स्वार्थले देशमा अशान्तिको वातावरण बनेको बताए।

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापती समेत रहेका पहाडिले ढुङ्गा जुधाउने काम भएकाले त्यसको झिल्कोले कुनै पनि बेला आगलागी हुन सक्ने बताए। उनले विप्लव समूहलाई अंहिसाको बाटो त्याग्न आग्रह गरे। 'सरकारले वार्ताको वातावरण बनाउनुपर्छ तर यसका लागि नागरिक समाजले पनि पहल गर्नुपर्छ' उनले भने।

पहाडिले सरकारले सिमा मिचिएको सम्बन्धमा तत्काल श्वेतपत्र जारी गरेर कुटनितिक पहल गर्नुपर्ने बताए।

प्रकाशित: २९ मंसिर २०७६ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App