१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद् अधिवेशन पुस ४ देखि

काठमाडौं – संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को हिउँदे अधिवेशन पुस ४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार पुस ४ गतेदेखि सुरु हुनेगरी संसद् अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ (१) अनुसार आह्वान गरेको अधिवेशनको पहिलो बैठक पुस ४ गते अपराह्न ४ बजे बस्नेछ।

यसअघि २०७६ वैशाख १६ गते सुरु भएको बर्खे अधिवेशन असोज २ गते अन्त्य भएको थियो। बर्खे अधिवेशन अन्त्य भएको २ महिनापछि हिउँदे अधिवेशन बोलाइएको हो। संविधानमा एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था छ। राष्ट्रपति कार्यालयले अधिवेशन आह्वानसम्बन्धी पत्र संसद् सचिवालयमा मंगलबार नै पठाएको छ। २०७५ सालको हिउँदे अधिवेशन पुस ११ गतेदेखि सुरु हुनेगरी आह्वान गरिएको थियो।

संसद् सचिवालयले अधिवेशनका लागि आवश्यक तयारी पूरा गर्न एक साता लाग्ने जनाएको छ। अधिवेशन आह्वान भएकाले एक साताभित्र सम्पूर्ण तयारी पूरा हुने सचिवालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले अधिवेशन आह्वानसम्बन्धी पत्र संसद् सचिवालयमा मंगलबार नै पठाएको छ।

अहिले प्रतिनिधिसभा सभामुखविहीन छ। संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि सभामुख कृष्णबहादुर महराले सो पदबाट राजीनामा दिएका छन्। बर्खे अधिवेशन सकिएको दुई सातापछि यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन्। हिउँदे अधिवेशनले नयाँ सभामुख चयन गर्नेछ।

अधिवेशनको पहिलो दिन सामान्यतया राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइन्छ भने सहिदको सम्झनामा एक मिनेट मौन धारण गरिन्छ। प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिले सोही दिन सभामुखको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न दिर्नेश गर्न सक्ने संसद् सचिवालयले जनायो। पहिलो बैठकले नयाँ सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने हो भने उम्मेदवार मनोनयन गर्ने दिनअघि नै उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ। नेकपाले नै सभामुखमा उम्मेदवारी दिने भएकाले एउटै दलका सभामुख र उपसभामुख हुन नसक्ने संविधानको व्यवस्था भएकाले उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ। उनले सूचना जारी गरेर राजीनामा दिन सक्ने वा सदनमा आफैंले वाचन गरेर राजीनामा दिन सक्ने दुई विकल्प छन्।

उपसभामुख तुम्बाहाम्फेले राजीनामाको विषयमा छलफल हुन बाँकी रहेको बताइन्। नेकपा नेतृत्वले उपसभामुखलाई अधिवेशन आह्वान भएपछि बैठक बस्ने दिनअघि पदबाट राजीनामा दिन भनेको स्रोतले बतायो। उपसभामुखको इच्छा पहिलो बैठकको अध्यक्षता गर्ने, निर्वाचन कार्यक्रम प्रकाशन गर्न निर्देशन दिने र त्यसपछि मात्र राजीनामा दिने छ। उनले आफूले निर्वाचनअघि राजीनामा दिने बताइन्। तर बैठकमा राजीनामा दिने कि अघि नै भन्नेबारे उनले स्पष्ट पारिनन्। उनले भनिन्, ‘यसबारे छलफल हुन बाँकी छ।’ आफूले सभामुखमा उम्मेदवारी दिने या नदिने विषयमा तीन दिनपछि थाहा हुने पनि उनले बताइन्।

प्रकाशित: २५ मंसिर २०७६ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App