काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।
नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएको योजनालाई सफल बनाउन सबैले साझा प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
सनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधार ल्याउने कार्यक्रम भएकाले सामाजिक सुरक्षा योजनाको कार्यान्वयन भएरै छाड्ने प्रतिवद्धता दोहोर्याएका छन्।
‘सरकारले अघि बढाएको सामाजिक सुरक्षाको योजनालाई सफल बनाउन सबैको साझा प्रयास हुन जरुरी छ,’ मन्त्री विष्टले भने,‘आम नागरिकको जीवनमा सुधार ल्याउने यस्ता खालका कार्यक्रममा सरकारलाई साथ दिनु सम्बन्धित सबै पक्षको दायित्व पनि हो।’
मन्त्री विष्टले सबै नागरिकलाई पेन्सन दिने गरी सुरु गरिएको यो योजना सफल पार्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए। गत श्रावण १ गतेबाट कार्यान्वयनमा ल्याइएको सामाजिक सुरक्षा योजनामा करिव १३ करोड निक्षेप संकलन भएको छ।
त्यसैगरी १ लाख १० हजार योगदानकर्ताहरुले त्यस योजनामा सहभागिता जनाएको पनि सामाजिक सुरक्षा कोषको तथ्यांकमा उल्लेख गरिएको छ।
प्रकाशित: ३० कार्तिक २०७६ ११:२४ शनिबार