१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विकाससँगै संरक्षण पनि : दाहाल

नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत। तस्बिरः नागरिक।

चितवन – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुर्वाधार विकास सँगसँगै संरक्षणलाई पनि सन्तुलित रुपमा अगाडी बढाउनुपर्ने बताएका छन्। जनसंख्या वृद्धिले संरक्षणमा नयाँ चुनौती थपेको भन्दै उनले पूर्वाधारको विकास र आर्थिक वृद्धिमा मात्र ध्यान दिँदा संरक्षण ओझेलमा परेको बताए। मंगलबारदेखि सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले प्रकृति नै जीवन र जीवन चक्र भएको बताएका हुन्।

आफूलाई बचाउन र भोलिका सन्ततिका लागि पनि प्रकृति बचाइराख्नुपर्ने जिम्मेवारी रहेको उनले बताए। जलवायु परिवर्तनको नकारात्मक प्रभाव विश्वमा नै देखिएको बताउँदै उनले सबै जनालाई संरक्षणमा लाग्न आग्रह समेत गरे। वनको दिगो सदुपयोग गर्ने र वन बचाउने काम अहिले समुदायले सामुदायिक वनमार्फत गरिरहेको उदाहरण नेपाल बनेको उनको भनाइ थियो।

वातावरणीय अपराधका रूपमा रहेको वन्यजन्तु र वन पैदावारको गैरकानुनी चौरी शिकार र अवैध बिक्री वितरणसमेत नियन्त्रणमा ल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए। नेपाल सरकार र अन्तर्राष्ट्रिय रेन्जर फेडेरेसन (आईआरएफ) ले सम्मेलनको आयोजना गरेका हुन्। सम्मेलन आयोजक समितिका संयोजक तथा वन तथा वातावरण मन्त्रालयका सह–सचिव महेश्वर ढकालका अनुसार ७२ देशका ५५० जना रेञ्जर कार्यक्रममा सहभागी छन्। ५ दिनसम्म चल्ने सम्मेलन अन्य देशमा भएका राम्रा काम, अनुभव सुन्ने र आफ्ना अनुभव बाँड्ने अवसर भएको उनले बताए।

विगतमा वन र जैविक विविधताको क्षेत्रमा नेपालले राम्रो काम गर्दै आएको भए पनि अन्य देशमा प्रयोग भइरहेका उन्नत ज्ञान र प्रविधिबारे सम्मेलनबाट सिक्न सकिने उनी बताउँछन्। ‘जैविक विविधता संरक्षणलाई अझ परिमार्जित र परिस्कृत गरेर लाने अवसर हो’ उनले भने, ‘हाम्रो अध्ययन अनुसन्धानमा कमजोरी छन्, प्रविधिको उच्चतम प्रयोग गर्न सकिराखेको छैनौं र स्थानीय ज्ञान प्रबद्र्धन गर्न सकिराखेका छैनौं।’

वन्यजन्तु, वनस्पती र मानव जातिको उत्थानका लागि जलवायु अनुकूलन र न्यूनीकरणमा गरेका काम सम्मेलनमा आदानप्रदान हुने उनले जानकारी दिए। जलवायु परिवर्तनलगायतका नयाँ चुनौती थपिएकाले भोलिका दिनमा नेपालको जैविक विविधता जोगाइराख्न अध्ययन अनुसन्धान र प्रविधीमा जोड दिनुपर्ने उनले बताए। यसमा हुने छलफल र बहसले रेञ्जर मात्र नभई नीति निर्माण तहमा रहेका व्यक्तिलाई पनि संरक्षणका विषयमा थप जानकारी मिल्ने उनले बताए।

वनमा दिनरात नभनी खटिनुपर्ने र संरक्षणमा लाग्नुपर्ने रेञ्जरको आफू मात्र नभई अरुलाई पनि बचाउनुपर्छ भन्ने दायित्व छ। उपयुक्त सेवा, सुविधा र कार्यक्षेत्रमा खटिँदा आवश्यक पर्ने उपकरण अझै पनि रेञ्जरलाई दिन नसकिराखेको सहसचिव ढकाल बताउँछन्। रेञ्जरको क्षमता अभिवृद्धि गर्ने र आधुनिक प्रविधिप्रति सक्षम बनाउनुपर्ने, अध्ययनमा पनि जोड दिनुपर्ने आवश्यकता अहिलेको रहेको उनले बताए। वन्य, वन्यजन्तु र प्राकृतिक स्रोतको संरक्षणका लागि कार्यरत रेञ्जरको विश्वव्यापी साझा मुद्दामा छलफल गर्न ३ वर्षको अन्तरालमा सम्मेलन आयोजना हुने गरेको छ।

सन् १९९५ मा पहिलोपटक आयोजना भएको सम्मेलन नवौं पटकसम्म आयोजना हुँदा एसिया महादेशमा पहिलो पटक नेपालमा भएको सहसचिव ढकालले बताए। सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्या–पर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएको उपलब्धि प्रस्तुत गर्नेछ। त्यसैगरी प्रविधिमा विश्वमा भएका प्रगती र समस्याका विषयमा प्रस्तुतीकरण गरिनेछ। वन्यजन्तु संरक्षण, अनुसन्धान, वन्यजन्तु मानव द्वन्द्व न्यूनीकरणका विषयमा विज्ञहरुले आ–आफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले जानकारी दिए। रेन्जरका हित, स्थानीय समुदायसँगको सम्बन्ध, आदिवासी जनजाती, रेन्जरका क्षमता अभिवृद्धि, महिला रेन्जर, प्रविधि लगायतका विषयमा पनि छलफल गरिनेछ। सम्मेलनपछि ‘सौराहा घोषणापत्र’ जारी हुनेछ।

प्रकाशित: २७ कार्तिक २०७६ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App