१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

उपनिर्वाचनको उम्मेदवारी दर्ता गरिँदै

कास्की २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा नेकपा उम्मेदवार विद्या भट्टराई र साझा पार्टीकी उम्मेदवार रजनी केसी हात मिलाउँदै। तस्बिर : उमेश पुन

काठमाडाैँ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।

बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको छ । स्थानीय तहको उम्मेदवारको मनोनयन दर्ता भने एक सातापछि तोकिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुन लागेकाे बताए । उनका अनुसार कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ । त्यस्तै स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्षको उपनिर्वाचन हुन लागेको हो। ३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १०१ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् ।

आयोगका अनुसार, आजै दिउँसो १ः३० देखि ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने भोलि शुक्रबार बिहान ११ः०० बजेदेखि ५ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ः०० देखि दिउँसो १ः३० बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ गर्ने, सोही दिन दिउँसो ३ः००देखि ५ः०० बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि अपराह्न ५ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ः०० अपराह्न ४ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए।

स्थानीय तहका रिक्त सदस्यका लागि कात्तिक २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगले उम्मेदवारको चुनावी खर्चको सीमा भने अघिल्लै निर्वाचनको निर्धारण गरिएको जनाएको छ। आयोगले प्रतिनिधिसभा सदस्यकाे लागि २५ लाख, प्रदेशसभा सदस्यकाे लागि १५ लाख, उपमहानगरपालिका प्रमुखको लागि साढे ५ लाख, वडा अध्यक्षका लागि साढे २ लाख, नगरपालिकाको वडा अध्यक्षका लागि २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साढे ३ लाख र वडा अध्यक्षका लागि डेढ लाख रुपैयाँ खर्च सीमा तोकेको छ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई चुनाव प्रचारप्रसारका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको हकमा १६ दिन र स्थानीय तहका उम्मेदवारको हकमा १० दिन दिएको छ। आयोगले कात्तिक ८ गते नै निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिने आयोगले जनाएको छ। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले मतदान गर्न पाउनेछन्। आयोगका अनुसार यो उपचुनावमा कुल मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित: २१ कार्तिक २०७६ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App