काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा सातै प्रदेशका प्रमुख ह्टाएको आरोप लगाएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले प्रदेश प्रमुख हटाउने निर्णय तर्कसंगत नभएको पनि ठहर गरेको हो। ‘प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिस्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रूपमा लिएको छ,’ बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ।’
सरकारको ध्यान मुलुकको आर्थिक समृद्धि र संघीयता कार्यान्वयनको बाँकी कार्यभार पूरागर्नेतर्फ हुनुको साटो प्रदेश प्रमुख हटाउन लाग्नु अत्यन्त गलत भएको उसले दाबी गरेको छ। ‘सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखको बर्खास्ती हुनु निर्वाचन प्रभावित पार्ने षडयन्त्रको रूपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिताविपरीतसमेत रहेको ठहर छ।’
आइतबार बसेको मन्त्रिपरिषद्को सिफारीमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशलाई पद मुक्त गरेकी थिइन्। मन्त्रिपरिषद्कै सिफारिसमै राष्ट्रपति भण्डारीले सोमबार सात नयाँ प्रदेश प्रमुख नियुक्ति गरेकी छिन्। मंगलबार बिहान भण्डारीले शीतल निवासमा आयोजित एक समारोहमा नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्।
प्रकाशित: २० कार्तिक २०७६ ०१:५६ बुधबार