१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मानवअधिकारको प्रत्याभूति हुन नसकेको टिप्पणी

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकको अवस्था बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजको साेमबार काठमाडाैंमा बिमोचन गर्दै अध्यक्ष शर्माले अहिलेपनि पञ्चायतकालिन शैलीजस्तो अवस्था देखिएको टिप्पणी गरे।

उनले भने, ‘हामीले व्यवस्था परिवर्तन त गर्यौं, तर त्यसअनुसार आचरण भयो कि भएन भन्ने मुख्य विषय हो। तर म आचरण पुरानै देख्छु।’ उनले गणतान्त्रिक ब्यवस्थामा पनि मानवअधिकारको प्रत्याभूति हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

उनले यो गणतन्त्र हो कि बन्दुकतन्त्र छुट्याउन गाह्रो भएको टिप्पणी समेत  गरे। विचार र आस्थाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न नहुनेमा उनले जोड दिए। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले शान्ति प्रक्रिया टुंगोमा नपुगेकोले मुलुकमा राजनीतिक तरलता देखिएको टिप्पणी गरिन्। उनले भनिन्, शान्ति प्रकृया सही ढंगले निष्कर्षमा पुगेको भए फेरि अहिलेको व्यवस्थामा प्रश्न उठ्ने थिएन, विप्लव जि, किरण जिहरू किन बाहिर हुनुहुन्छ ? उनले प्रश्न गरिन्।

संसद कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले मानवअधिकारको अवस्था गम्भीर बन्दै गएको टिप्पणी गरे। यस्तै  जनअधिकार अभियान नेपालका अध्यक्ष बरिष्ठ अधिबक्ता एकराज भण्डारीले विप्लवले भनेको बैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबीच किन बहस गर्न नपाउने भन्दै प्रश्न गरे। नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्न माग गरे। नेता आहुतिले बिचार र आस्थामाथिको प्रतिबन्धले समस्या समाधान नहुनेमा जोड दिए।

उनले विचार र आस्थाकै आधारमा देशभर धरपकड गरिएको भन्दै संविधानमा लेखिएको मौलिक हक सुनिश्चित गर्न आग्रह गरे। कार्यक्रममा नागरिक आन्दोलनका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारको कार्यशैली गम्भीर भएको दाबी गरेका छन्, उनले यत्रो लडेर ल्याएको गणतन्त्रमा ल्याउनेहरु नै पिडित बन्नु परेको टिप्पणी गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूले समेत लडेर ल्याएको गणतन्त्रमै प्रेस स्वतन्त्रता कुण्ठित भएको भन्दै आश्चर्य व्यक्त गरे। उनले विचार र आस्थाकै आधारमा पत्रकार गिरफ्तार गर्नु आपत्तिजनक भएको बताए।

जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रेले देशभर विचार र आस्थाका आधारमा आफ्ना संगठनका साथिहरू गिरफ्तार गरिएको भन्दै आपत्ति जनाए। सामाचार लेखेकै आधारमा पक्राउ गर्ने र सर्वोच्च अदालतको आदेशमा रिहा हुदा पनि पटक पटक पक्राउ गर्ने गरिएको भन्दै सबैको ध्यानाकर्षण गराए।

कार्यक्रममा प्रगतिशील कानुनी व्यवसायी संगठनका सचिव कपिलचन्द्र पोख्रेल ,तक्मा केसी,अधिकारकर्मी डा. कपिल श्रेष्ठ,सरला रेग्मी,भवानी खरेल,शान्ता भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ५ कार्तिक २०७६ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App