१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अस्पताल भन्छ: उहाँलाई बाहिर निकाल्न मिल्दैन

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन बित्दा पनि बयान लिन सुरु गरिएको छैन। स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आएका छन्। स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घटनाको बारेमा बयान लिन सकेको छैन। उच्च रक्तचापको समस्या देखिएपछि उनलाई आठ दिनअघि नर्भिक अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएको अस्पताल स्रोतको भनाइ छ। प्रहरीले गते मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको हो। ‘उहाँको स्वास्थ्यमा खासै सुधार देखिएको छैन, रक्तचाप उच्च छ,’ अस्पताल स्रोतले भन्यो, ‘आजको भोलि अस्पतालबाट बाहिर निकाल्न मिल्दैन।’

आठ दिनअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा महरालाई उपस्थित गराएर बयान लिने प्रयास गरेको थियो। बयान सुरु गरेसँगै उच्च रक्तचापको समस्या बढेपछि उनलाई तुरुन्तै नर्भिक अस्पतालमा भर्ना भएका थिए। दसैंपछि मंगलबार अदालत खुलेपछि बयान लिने तयारी गरे पनि स्वास्थ्य ठिक नभएपछि बयान लम्बिदै गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरिरहेको र बयान लिएपछि मात्रै घट्नाको नजिक पुग्न सकिने उनले जानकारी दिए। ‘अस्पताल स्रोतसँग हामीले कुराकानी गरेका छौं, जहिले स्वास्थ्य ठिक हुन्छ त्यही दिन बयान लिने कुरा भइरहेको छ,’ उनले भने, ‘ठिक भएन भने २५ दिनसम्म पनि बयान टर्न सक्छ।’

यौन दुव्र्यवहारको आरोप लागेपछि महरामाथि प्रहरीले अनुसन्धान थालेको थियो। १२ दिनअघि उनलाई सरकारी निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको थियो। प्रहरीले उक्त घटनालाई अनुसन्धान प्रक्रियामा नल्याउँदै पीडित भनिएकी रोशनी शाहीले बानेश्वर वृत्तमा पुगेर उजुरी दिएकी थिइन्। उजुरीमा आफूमाथि दुव्र्यवहार भएको जानकारी गराएकी थिइन्। असोज १६ गते यौन दुव्र्यवहारको घटना सार्वजनिक भएको थियो। बलात्कार प्रकरणमा मुछिएपछि महराको सभामुख तथा सांसदको सरकारी सेवा सुविधासमेत कटौती भइसकेको छ।

प्रकाशित: १ कार्तिक २०७६ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App