६ वैशाख २०८१ बिहीबार
राजनीति

महराको राजनीतिक भविष्य नै अन्योलमा

टपेन्द्र कार्की/ईश्वरी सुवेदी
काठमाडौं - महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन लगाएको थियो। मंगलबार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।

नेकपाको सचिवालय बैठकअघि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई बोलाएका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरको नयाँ भवन शिलान्यास गर्न पुगेका आइजिपी खनाललाई बोलाएर ओलीले घटनाको सबै विवरण लिएका थिए। उनले महरा ती महिलाको कोठमा जाने रुटको सिसिटिभी फुटेजसमेत मगाएर हेरेका थिए।

महरामाथि लागेको आरोपले पार्टीलाई पनि क्षति पु¥याउने निष्कर्षसहित नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देश गरेको थियो।

सो फुटेज प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपाकै चौथो वरियताका माधवकुमार नेपालले समेत हेरेपछि प्रधानमन्त्री निवासमै महरालाई बोलाएर छलफल गरेका हुन्। महाराले रोशनीकोमा आफू गएको स्वीकार गरेकाले राजीनामा दिएर सहजीकरण गर्न ओली, दाहाल र नेपालले सुझाव दिएका थिए। बिहान करिव १० बजेतिर आइजिपी खनाल निस्केपछि नेकपाको सचिवालय बैठक बसेको थियो।

महरालाई बोलाउनुअघि नेता नेपाल तथा दुई अध्यक्षबीच पनि यो विषयमा छलफल भएको थियो। बिहान १० देखि ११ बजेसम्म बालुवाटारमा पार्टीका दुई अध्यक्ष र नेपालबीच छलफल भएर ११ बजे बैठक बसेको थियो। सचिवालय बैठकमा आइजिपीले प्रधानमन्त्री र गृहमन्त्रीलाई गरेको ब्रिफिङ तथा बानेश्वरको सडक हुँदै महराको गाडी गएको सिसिटिभी फुटेजसमेत देखाइएको थियो। बैठकमा उपस्थित सबै नेता त्यसपछि स्तब्ध भएका थिए। सबैको जोड राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न लगाउनुपर्नेमा थियो।

बैठकले महरालाई सभामुख र सांसदबाट तत्काल राजीनामा दिन निर्देशन दिएको थियो। त्यसपछि महराले राजीनामा दिएका थिए। यसअघि पार्टीभित्र र सरकारमा रहँदा विभिन्न आरोप खेपेका महरा यौन दुव्र्यवहारको आरोपबाट भने उम्कन सकेनन्। उनलाई पार्टीले समेत संरक्षण गर्न सक्ने अवस्था बनेन र बाध्य भएर राजिनामा गर्नुपरेको छ। सोमबार साँझदेखि उनले महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपसहितका समाचार प्रकाशन हुनेथालेपछि राति नै महराको सचिवालयबाट विज्ञप्ति जारी गरी आरोपमा सत्यता नभएको दाबी गरिएको थियो।

सचिवालय बैठक बस्नुअघि संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्बाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँग पनि ओली र दाहालले छलफल गरेका थिए। नेम्बाङ, खरेल र आइजिपीपछि ओली र दाहालले गृहमन्त्रीसँग परामर्श गरेका थिए। ‘बिहान ७ बजेदेखि नै यो विषयमा छलफल भएको थियो। महरासँग पनि पटकपटक छलफल भएका थियो’, बालुवाटार स्रोतले भन्यो। यस घटनाले पार्टीलाई समेत आघात पुगेको निष्कर्ष निकालिएको थियो। सबै सचिवालय सदस्यले यो विषयमा प्रहरी अनुसन्धानलाई सहयोग गर्न समेत महरालाई आग्रह गर्ने बताएका थिए। ‘गम्भीर आरोप हो पार्टीलाई समेत क्षति पुग्ने विषय भएकाले महरा आफैंले प्रहरी अनुसन्धानका लागि सहयोग गर्नुपर्छ’, बैठकमा सहभागी एक सदस्यले बैठकमा उठेको कुराबारे जानकारी दिए।

घटनाबारे गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र आइजिपी खनालबीच सोमबार दिउँसोदेखि नै छलफल भएको थियो। सञ्चारमाध्यमले सोमबार साँझ समाचार प्रकाशन गरेपछि भने गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। महराले सभममुखबाट राजीनामा दिएपछि गृहमन्त्री थापा र आइजिपी खनालबीच छलफल भएको थियो।

प्रहरीको अनुसन्धान सुरु
सभामुख महराले संघीय संसद् कार्यालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ।

पीडित भनिएकी कर्मचारी रोशनीले प्रहरीमा किटानी जाहेरी नदिँदै उनको कोठामा पुगेर मदिराको बोतल, चस्मालगायतका सामग्री बरामद गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले प्रहरीका तर्फबाट अनुसन्धानमा आवश्यक पर्ने सबै प्रमाण जुटाइएको बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंले प्राविधिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। सभामुखबाट राजीनामा दिएलगत्तै प्रहरीले पीडित भनिएकी महिला शाहीको कोठामा पुगेर मंगलबार दिउँसो प्रमाण संकलन गरेको हो। ‘हामीले सिसिटिभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं।

पीडित महिलाको जाहेरी कुरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले आफूहरुले अनुसन्धान सुरु गरिसकेको बताएका छन्। महिलासँग जानकारी तथा घटनास्थलको तस्बिर लिएर डिएसपी दुर्गा रेग्मीको टोली शाहीको कोठाबाट फर्किएको थियो।

मन्त्रीसँगको छलफलपछि गृहसचिव राई, प्रहरी महानिरीक्षक खनाल र शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीबीच गृह मन्त्रालयमा यसै विषयमा छलफल भएको थियो। प्रहरी

का अनुसार बानेश्वर वृत्तलाई अनुसन्धानमा सघाउन र समन्वय गर्नका लागि परिसरबाट मुद्दा शाखाका डिएसपीलाई समेत खटाइएको छ। प्रहरीले हिजै मोबाइलको कल डिटेल्स तथा महरा र महिलाबीच सामाजिक सञ्जाललगायत अन्य अनलाइनका माध्यमबाट भएको कुराकानीको समेत अनुसन्धान गरिरहेको छ। ‘किटानी जाहेरी आए हामीलाई सजिलो हुन्थ्यो तर राति अबेरसम्म जाहेरी आएको छैन’, प्रहरी स्रोतले भन्यो।

बोली फेर्दै महिला
सभामुख महराद्वारा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउने महिला रोशनी शाहीले मंगलबार आफ्नो कुरा फेरेकी छन्। आफ्नो बाबुजस्तो व्यक्तिबाट दुव्र्यवहार नभएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा भिडियो अन्तर्वार्ता दिएकी छन्। ‘उहाँ (महरा) मेरो बाउसमानको मान्छे हो। उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन।

मैले रिस उठेको बेलामा केके भनें, यी सब निराधार हुन्। त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले भनिन। मंगलबार साँझ नै रोशनीका पति चित्रजंग शाहीले पनि महराबाट त्यस्तो कुकृत्य नहुने बताउदै दुव्र्यवहार नभएको दाबी गरेका छन्।

प्रकाशित: १५ आश्विन २०७६ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App