काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ कम्युनिस्ट पार्टीले अबलम्बन गरिरहेको सी विचारधारा अन्तर्राष्ट्रियकरण भइसकेको बताएकी छिन्।
बिहीबार चीन अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सी विचारधारा अन्तर्राष्ट्रियकरण भइसकेको बताए पनि आफूहरूले यसलाई निर्यात भने नगर्ने बताएकी हुन्। उनले विचार वा अन्य कुनै हिसाबले कसैको आन्तरिक मामिलामा पनि हस्तक्षेप नगर्ने बताइन्।
हालै मात्र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पार्टीभित्र सी विचारधारासम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेपछि यो विषयमा नयाँ बहस सुरु भएको छ। कतिपयले सत्तारूढ नेकपा सी पथमा हिँडेको र सीको पथ आयात गरेको आरोपसमेत लगाउने गरेका छन्।
सीको विचारधारालाई लिएर नेपालमा नयाँ बहस सुरु भइरहेका बेला चिनियाँ राजदूतले विचार निर्यात नगर्ने अभिव्यक्ति दिएकी हुन्। उनले दुई मुलुकका कम्युनिस्ट पार्टीबीचको सहकार्यलाई गलत ढंगले नबुझ्नसमेत आग्रह गरिन्।
प्रकाशित: १० आश्विन २०७६ ०१:०९ शुक्रबार