२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारले भ्रष्टाचार संस्थागत गर्‍याे : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले मुलुकमा आर्थिक अनियमिता र भ्रष्टाचार तीव्र बनाएको बताएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डैकाण्ड’ नामक पुस्तकको सामबार राजधानीमा विमोचान गर्दै देउवाले सरकारले ठूलो आयोजनाका ठेक्का पनि बिनाप्रतिस्पर्धा दिएर आर्थिक अनियमिता बढाएको दाबी गरे । ‘यो सरकार बनेदेखि बिनाप्रतिस्पर्धा नै आयोजनाको ठेक्का दिएको छ । जहाँ बिनाप्रतिस्पर्धा ठेक्का दिइन्छ त्यहाँ ठूलो भ्रष्टाचार छ, आर्थिक चलखेल छ,’ देउवाले भने ।

सरकारले संविधान र लोकतन्त्रको मूल्य मान्यताविपरीत मानव अधिकार, प्रेस स्वतन्त्रतामा हस्तक्षेप बढाएको बताउँदै देउवाले भने, ‘कांग्रेस प्रजातन्त्रका लागि २००७ सालदेखि लड्दै आएको पार्टी हो । जनताका अधिकारका लागि फेरि पनि सदन र सडकमा लड्न तयार छौं ।’

कार्यक्रममा महामन्त्री शशांक कोइरालाले पार्टी नेतृत्वलाई गालि गर्नुभन्दा संगठन निर्माणमा ध्यान दिन आग्रह गर । पार्टी सभापति देउवासहितका शीर्ष नेतालाई गाली गरेर संगठन मजबुत नहुने तर्क गर्दै कोइरालाले भने, ‘गाली होइन बरू हामी सबै मिलेर संगठन निर्माणमा लागौं ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सबै तहका नेता तथा कार्यकर्ताको ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चिनियाँ कम्युनिस्ट पार्टीको भ्रातृ संगठनका रूपमा परिणत भएको आरोप लगाउँदै खाँणले भने, ‘भाइचारा सम्बन्ध हुनसक्छ, तर त्यो मुलुकमा जस्तो खालको शासन व्यवस्था हुनुपर्छ भन्ने मान्यता अलोकतान्त्रिक हो, अप्रजातान्त्रिक र राष्ट्रघाती हो ।’ महरद्वारा लिखित पुस्तकमा ओली नेतृत्व सरकार गठनपछि देशमा घटेका विभिन्न घटना उल्लेख गरिएको छ ।

प्रकाशित: ७ आश्विन २०७६ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App