२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनका लागि १३ दल दर्ता

काठमाडौं – आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १३ दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकीकरण भएका, नाम परिवर्तन भएका दलहरूलाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम १३ दल उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका हुन्।

आयोगका अनुसार सोमबारसम्म दर्ता भएका दलमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), मंगल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद पार्टी, नेकपा पुष्पलाल पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, जनमत पार्टी र नेपाल लोकतान्त्रिक पार्टी छन्।

आयोगले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य वा स्थानीय तह सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता नभएका राजनीतिक दल, एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दल र निर्वाचनपछि आयोगमा दर्ता हुन आएका दललाई भदौ मसान्तसम्म दर्ताका लागि आह्वान गरेको थियो। जसअनुसार उपनिर्वाचनमा भाग लिनका लागि आयोगले भदौ ३१ गतेसम्मको समयसीमा तोकेको थियो। आयोगले दल दर्ताका लागि तोकेको समयसीमा मंगलबार सकिँदैछ। यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन ९२ दल आयोगमा दर्ता भएका थिए भने स्थानीय तहको निर्वाचनमा भाग लिन ८० दल आयोगमा दर्ता भएका थिए।

आगामी मंसिर १४ गते विभिन्न कारणले पद रिक्त भएका प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, र वडाध्यक्ष ४२ गरि ५१ पदको उपनिर्वाचन हुँदैछ। आयोगले उपनिर्वाचनमा भाग लिन पाउने ३७ जिल्लाका १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App