२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काङ्ग्रेसले जागरण अभियानका लागि खटायो प्रतिनिधि

काठमाडौँ- नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।     

यहीं भदौ २४ गतेदेखि प्रारम्भ हुने दोस्रो चरणको जागरण अभियानका लागि आज प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रतिनिधिको नाम टुङ्गो लगाई खटाइएको पार्टी कार्यालयले जनाएको छ।     

प्रदेश नं १ का ५६, कर्णाली प्रदेशका २४ र सुदूरपश्चिम प्रदेशका ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्वजिल्ला सभापति, प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार भइसकेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको हो।     

बाँकी चार प्रदेशका लागि पनि आजै नाम टुङ्गो लगाई खटाइने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अभियान विपी कोइरालाको १ सय ६औँ जन्मजयन्तीका दिन भदौ २४ गते प्रारम्भ भई आगामी असोज ७ गते समापन हुने उनले बताए।     

दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन्। जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणा अनुरूप ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान सम्पन्न गरिने प्रवक्ता शर्माले बताए। जसअनुरूप हरेक क्षेत्रमा एक÷एकका दरले ३ सय ३० केन्द्रीय प्रतिनिधि खटाउन लागिएको हो।     

प्रवक्ता शर्माले भने, “दोस्रो चरणको अभियानका औपचारिक कार्यक्रम पनि छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तरक्रियात्मक हुनेछन्। अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारित छन्।”     

विपी कोइरालाको १ सय ६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १ सय ६ बिरुवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीरूपमा उद्घाटन गरिने पार्टी कार्यालयले जनाएको छ।     

काङ्ग्रेसले प्रथम चरणमा ७७ वटै जिल्लामा एक÷एक जना केन्द्रीय प्रतिनिधि पठाएको थियो। जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो। तेस्रो चरणको अभियान आगामी पुस ७ मा प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुनेछ।

काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि गत वैशाख ३ गते मुलुकभर तीन चरणमा जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो।रासस

प्रकाशित: २२ भाद्र २०७६ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App