१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारी जागिरको प्रलोभन देखाई नेकपाका नगर अध्यक्ष ४५ लाख रकम लिएर सम्पर्कविहीन

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिकाका सत्तारुढ नेकपाका अध्यक्ष विश्व कार्कीले सरकारी जागिर लगाई दिने प्रलोभनमा पारेर ४५ लाखभन्दा बढी रकम ठगेको आरोप लगेको छ। आफ्नै पार्टी निकट एक दर्जन युवासंग अध्यक्ष कार्कीले ४५ लाख ३० हजार उठाएको कुरा बाहिर आएको हो। 

बिगत डेढ महिनादेखि कार्की सम्पर्कविहीन रहेको पीडितहरुले बताए। उनले नेपाल प्रहरी, शिक्षा सेवा आयोग र स्वास्थ्य सेवामा जागिर लगाइदिने भन्दै रकम असुलेका थिए। गत साउन ३२ गते गुल्मी र बाग्लुङका एक दर्जन युवाहरुले आफूलाई कार्कीले ठगेको भन्दै रकम फिर्ता गराई दिन नेकपा जिल्ला कार्यसमितिमा सामूहिक निबेदन दिएका थिए। सोही निबेदन सार्वजनिक भएपछि कार्कीले ठगेको कुरा बाहिर आएको थियो। 

शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्यका लागि ३ लाख र प्रहरीका लागि २ लाख ६० हजारका दरले रकम लिएको पीडितले बताए। ७ जना शिक्षा सेवा आयोग, २ जना स्वास्थ्य र ३ जना प्रहरी बन्नका लागि कार्कीलाई रकम बुझाएका थिए। ग्यारेन्टीका साथ  जागिर लगाई दिने र केन्द्रीय स्तरका कर्मचारी र नेताहरुलाई रकम बुझाउन पर्ने भन्दै रकम लिइएको पाइएको छ। 

निवेदनमा शिक्षक बन्न गुल्मीको मालिका गाउँपालिकाका तारा बहादुर थापा, तेजेन्दै घर्ती, दिपेन्द्र घर्ती, कुती श्रीस, रुद्र्र बहादुर पुन, बाग्लुङको बडिगाउ गाउँपालिकाको पूर्णबहादुर बिक र श्याम घर्तीले साढे चार लाखका दरले रकम बुझाएको उल्लेख गरिएको छ। यस्तै प्रहरी बन्न बाग्लुङका नर बहादुर बिक, गंगाराम बिक, मनोज रसालीले ३ लाखका दरले रकम दिएका थिए। 

स्वास्थ्यका लागि गुल्मीका जीतच बहादुर सुनार र पदम थापाले २ लाख ६० हजारका दरले बुझाएका थिए।  गुल्मीको मालिका गाउँपालिका २ का दिपेन्द्र घर्तीले आफूले शिक्षक सेवा अयोगबाट प्राबि शिक्षाका लागि कार्कीलाई साढे चार लाख बुझाएको बताए। ‘पैसा बुझाए पछि पास हुन्छु भन्ने ढुक्क थिए तर नजित प्रकाशित हुँदा हाम्रो नाम नै थिएन’, गत असोजमा बुटवलबाट आयोगमा परीक्षा दिएका उनले भने। गुल्मीकै अर्का पीडित बलम सारु मगरसंग भएको चिनजानका आधारमा कार्कीलाई पैसा बुझाएको उनले बताए। गत असारमा परीक्षाको नजिता आएपछि आफूहरु पास नभएपछि कार्कीसंग पैसा फिर्ता मागेको उनले बताए। ‘पटक पकट पैसा फिर्ता गर्न आग्रह गर्यौ, तर कुनै सुनुवाई भएन’, उनले भने, ‘त्यसैले बाध्य भएर नेकपा पार्टीमा १२ जनाा पीडितले सामूहिक निवेदन हाल्यौं।’ 

कार्कीलाई खोज्न पटक पटक उनको बाणगंगा नगरपालिका २ स्थित घरमा जाँदा भेट नभएको र घर परिवारले पनि कार्कीबारे कुनै जानकारी नभएको बताएको पीडितले गुनासो गरे। ‘कार्की मोबाइल स्विच अफ गरेर सम्पर्कबिहीन छन्’, उनले भने। 

नेकपाका एक जिल्लास्तरीय नेताले कार्की पहिलेदेखि नै ठगी धन्दामा लागेको बताए। ‘बिगतदेखि नै कार्कीको छबी राम्र्रो थिएन, धेरै ब्यक्तिहरुसंग ठगेका थिए, अहिले मात्र पार्टीमा उजुरी परेको छ’, उनले भने। कार्कीलाई पार्टीले मात्र कारबाही गरेर नहुने उनलाई कानुनी कारबाही पनि गर्नुपर्ने उनले बताए। स्रोतका अनुसार कार्की अहिले भारतमा लुकेर बसेका छन्। उनी डेढ महिनादेखि सम्पर्कबिहीन छन्। पार्टी जिल्ला अध्यक्ष झबी पोखरेलले पार्टीको नगर अध्यक्ष कार्कीबिरुद्ध १२ जनाले उजुरी दिएको बताए। ‘कार्की बिरुद्ध ठगी सम्बन्धी उजुरी परेको छ, अहिले कार्की सम्पर्कमा छैनन’, उनले भने, ‘आउने शनिवारभित्र पीडित र कार्कीबीच सामूहिक छलफल गर्छौं’, उनले भने, ‘दोषी देखिए पार्टीले अनुशासनको कारबाही गर्छ।’ 

अध्यक्ष पोखरेलले कार्की भारतको दिल्लीमा उपचारका लागि गएको कुरा सुनेको कुरा बताए। छलफलमा कार्की नआए पनि आफूले सोही अनुसार अघि बढ्ने उनले बताए। यस बिषयमा बुझन खोज्दा कार्कीसंग सम्पर्क हुन सकेन। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App