२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा छः सभापति देउवा

बुटवल– नेपाली काँग्रेसका शीर्ष नेताहरुले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधान मासिने खतरा रहेको बताएका छन्। काँग्रेसले आफना महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट सरकारले अधिनायकबाद र निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए। 

प्रदेश ५ स्तरीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारको अधिनायकबाद बिरुद्ध काँग्रेस एक भएर अगाडि बढ्नु पर्ने बेला आएको बताए।   सभापति देउवाले अधिनायकवादी सरकारबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरा रहेको टिप्पणी गरे। कम्युनिस्टहरु सत्तामा आए बोल्न र रुन पनि पाइँदैन भन्ने आफ्नो भनाइ सत्य सावित भएको भन्दै उनले न्यायालय, प्रेस र  मानवअधिकारमाथिको हस्तक्षेप र नियन्त्रणमुखी बिधेयकबाटै सरकारको नियत स्पष्ट भएको दावी गरे। ‘ओली सरकारले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार खोस्न खोज्दैछ।  प्रजातान्त्रिक मूल्य र मान्यता सिध्याउने दिशामा अगाडि बढेको छ’, देउवाले भने। 

लोकतान्त्रिक गणतन्त्र र संविधानबिरुद्ध चालिएका यस्ता कदम नसच्चिए संघर्षमा जाने चेतावनी देउवाले दिए। ‘विकास, सुशासन र शान्तिसुरक्षाको सवालमा असफल भइसकेको सरकारले जनतालाइ करै कर लगाएर त्रासमय बातावरण सिर्जना गरेको छ’, देउवाले भने।

प्रजातन्त्रकै लागि काँग्रेस जन्मिएको भन्दै देउवाले अधिनायकबाद र सर्वसत्ताबाद बिरुद्ध लड्न गुट उपगुट अन्त्य गरी काँग्रेसलाई बलियो बनाउने बताए। पार्टीमा भावनात्मक एकता आवश्यक भएको उनको भनाइ थियो। 

बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट उपगुट अन्त्य गर्न न्याय निश्पक्षता र पारदर्शीता हुनुपर्ने बताए। पौडेलले कम्युनिष्ट सरकारले प्रजातान्त्रिक मुल्य मान्यता र संविधानको मर्ममाथि नै प्रहार गरिरहेको बताए। कम्युनिस्टसंग राष्ट्र निर्माणको कुनै दृष्टिकोण र विकासका प्राथमिकता छुट्याउने क्षमता नरहेको भन्दै उनले समुद्ध राष्ट्र निर्माणको दृष्टिकोण काँग्रेससंग मात्रै रहेको दाबी गरे। सरकारी ढुकुटी बाँडेर आफना नेता कार्यकर्ता पोष्ने र नयाँ बर्ग जन्माउने अभियानमा सरकार लागेको आरोप उनले लगाए। 

पार्टीका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले बनाएको समावेशी संविधान र प्रजातान्त्र माथि सबैभन्दा ठुलो खतरा सरकार र सरकारकै दलबाट रहेको टिप्पणी गरे। अर्का उपसभापति बिजय कुमार गच्छदारले बाटो बिराएर दश बर्ष बाहिर बस्दा पनि देश र जनताको हित नेपाली काँग्रेसले नै गर्न सक्छ भन्ने विश्वास कहिल्यै नडगमगाएको बताए। 

काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारले संवैधानिक र प्रशासनिक अंगहरुलाइ राजनीतिक भर्ती केन्द्र बनाएको र संघीयताको मूल्य मान्यतालाई मिचिरहेको बताए। 

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रजातन्त्र र संविधानको रक्षाका लागि शान्तिपूर्ण संघर्ष गर्नु पर्ने बताए। संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिष्ट सरकारले संघियता स्वीकार गर्न नसकेको र लोकतन्त्रलाइ कमजोर बनाउने काम गरिरहेको बताइन्। 

प्रकाशित: २ भाद्र २०७६ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App