६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पश्चिम नेपालका १९ स्थानामा उपनिर्वाचन हुँदै

नेपालगन्ज - आगामी मसिंर १४ मा पश्चिम नेपालमा विभिन्न १९ पदका लागि उपनिर्वाचन हुने भएको छ।  निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषण गरेसँगै प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विभिन्न १९ स्थानामा उपनिर्वाचन हुने भएको हो।  आयोगले दिएको जानकारी अनुसार तीन वटा प्रदेश मध्ये सबैभन्दा बढि ५ नम्बर प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा उपनिर्वाचन हुने छ।  ५ नम्बर प्रदेशका विभिन्न १० स्थानमा उपनिर्वाच हुँदा कर्णाली स्थानमा मात्रै उपनिर्वाचन हुने आयोगले जानकारी दिएको छ, भने सुदूरपश्चिम प्रदेशमा सात स्थानमा उपनिवार्चनको तयारी छ।

प्रदेश– ५ मा एक प्रदेश सांसद र ९ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।  दाङको ३(ख) निर्वाचन क्षेत्रमा प्रदेश सांसदका लागि उपनिर्वाचन हुनेछ भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६, अर्घाखाँची मालारानी गापा–३, प्यूठानको प्यूठान नगरपालिका–२, प्यूठान ऐरावती गाउँपालिका वडा नं. १ र २, रोल्पाको थावाङ गाउँपालिका–१, कपिलवस्तु शिवराज नगरपालिका–१०, दाङ घोराही उपमहानगरपालिका–१६, बाँके कोहलपुर नगरपालिका– ६ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुने आयोगले आयोगले जानकारी दिएको छ।  उपनिर्वाचनमार्फत आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउन यहाँका राजनीतिक दल छलफलमा सक्रिय हुन थालेका छन्।  यो प्रदेशको विभिन्न सातवटा जिल्लामा उपनिर्वाचन हुँदैछ।

कर्णाली प्रदेशमा गाउँपालिका उपाध्यक्ष एक र एक वडाध्यक्षका लागि उपनिर्वाचन हुने तयारी रहेको आयोगले जानकारी दिएको छ।  हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद र सल्यान कुमाख गाउँपालिका–५ को वडाध्यक्ष पद रिक्त छन्।  सोही पदको लागि उपनिर्वाचन हुने तयारी भएको छ।

सुदूरपश्चिम प्रदेशमा भने वडाध्यक्षको लागि मात्रै उपनिर्वाचन हुने तयारी।  विभिन्न कारणले गर्दा यो प्रदेशका ७ वटा वडाध्यक्ष पद रिक्त रहेकाले त्यसको लागि मात्रै उपनिर्वाचन हुने आयोगका सहसचिव शंकरप्रसाद खरेलले जानकारी दिए।  उनका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मल्लेख गाउँपालिका–५, डोटीको आदर्श गाउँपालिका–२, कञ्चनपुरको पुनर्वास नगरपालिका–३, बैतडीको पुचौंडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको लागि उपननिर्वाचन हुने छ।

उपनिर्वाचनका लागि राजनीतिक सरगर्मी बढेको छ।  यो क्षेत्रमा नेकपा, कांग्रेस, राप्रपा, समाजवादीलगायत दलले उपनिर्वाचनको लागि सक्रियता बढाएका छन्।  विशेष गरी ठूला दुई दल नेकपा र कांग्रेसमा उम्मेदवारका आकांक्षी धेरै देखिएका छन्।

उपनिर्वाचनको लागि निर्वाचन आयोगले तयारीलाई तीव्रता दिएको बताएको छ।  आयोगले अहिले जिल्लामा दर्ता भएका मतदाता नामवली संकलन गर्ने काम गरिरहेको आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले जानकारी दिए।  भदौ महिनाको दोस्रो सातासम्मा अन्तिम नामवलीको टुंगो लाग्ने भएकाले त्यसपछि मात्रै थप काम अगाडि बढाउने उनको भनाइ छ।  साउन १६ गतेसम्म मतदाता नावमलीमा नाम दर्ता भएको र १८ वर्ष उम्मेर पुगेको व्यक्तिले उपनिर्वाचनमा सहभागि हुन पाउने प्रवक्ता खरेलले बताए।

उपनिर्वाचनमा सहभागि हुने दल दर्ताका लागिसमेत निर्वाचन आयोगल पुनः सूचना प्रकाशन गर्ने उनले जानकारी दिए।  ‘उपनिर्वाचनमा सहभागिता गराउनको लागि हामी दल दर्ताको लागि सूचना प्रकाशन गर्छाैं,’ प्रवक्ता खरेलले भने, ‘तर गत निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीहरू पुनः दर्ता हुनुपर्ने वा नपर्ने भन्ने विषयमा आयोगले निर्णय गर्नेछ। ’ उपनिर्वाचनमा नयाँ राजैनीतिक पार्टी पनि सहभागी हुनसक्ने भएकाले सूचना अनिवार्य रहेको उनको भनाइ छ।

प्रकाशित: २७ श्रावण २०७६ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App