१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने

काठमाडौं– प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना बनाएका छन्।

खाद्य वस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैंले एक/एक वटा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन्।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा चाडबाडको बेलालाई लक्षित गरेर आयोजना गरेको बजार अनुगमनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेश ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशालाको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यसका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरूको भनाइ छ। प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले जनस्वास्थ्यमाथि खेलबाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य वस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिए।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नेपालले पनि हेटौंडामा दूध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने जानकारी दिए। उनले चाडबाडका बेला बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोतसाधनले सम्पन्न बनाउन पनि संघीय सरकारसँग आग्रह गरे।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लम्सालले खाद्य वस्तुको बजार अनुगमनका लागि बजार अनुगमन निर्देशिका बनाएर कामलाई अघि बढाइएको जानकारी दिए। उनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच बलियो सहकार्य हुनुपर्नेमा पनि जोड दिए।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने माग गरे। उनले कर्णाली खाद्यान्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दसैँ, तिहारजस्ता चाडपर्वका बेला हुने मूल्य वृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीव्रता दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे। उनले चाडबाडका बेला उपभोक्तालाई मारमा पार्ने काम हुन नदिन पनि तीनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको पनि स्पष्ट पारे।

कार्यक्रममा महानगरपालिका र उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले पनि चाडबाडको बेला उपभोक्तालाई मारमा नपार्ने गरी बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: २४ श्रावण २०७६ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App