coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'ललिता निवासमा मुछिएका श्रेष्ठको मृत्यु शंकास्पद'

पर्वत - पार्टी जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको निधन संकास्पद भएको भन्दै नेपाली कांग्रेस पर्वतले निष्पक्ष छानबिन गर्न माग गरेको छ। काठमाडौंस्थित सामाखुसीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेको भनिएका श्रेष्ठको मृत्यु शंकास्पद भएको दाबी गर्दै पर्वत कांग्रेसले छानबिन गर्न माग गरेको हो। श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको थियो। जिल्ला सभापति खिमप्रसाद भुसालले विज्ञप्ती जारी गर्दै ठूला माछाको पोल खुल्ने डरले श्रेष्ठको हत्या भएको हुनसक्ने बताएका छन्।

बालुवाटारको जग्गा प्रकरणसँग जोडिएर छानबिनको क्रममा रहेका श्रेष्ठले सबै पोल खोल्ने डरले त्यो घटना भएको हुनसक्ने भएका कारण निष्पक्ष छानबिन हुनुपर्ने माग भुसालको रहेको छ। ललितानिवास जग्गा प्रकरणसँग जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति दुःख व्यक्त गर्दै कांग्रेसले प्रमाणसहित सत्य कुरा बाहिर ल्याउन माग गरेको छ।

‘आठ तलाबाट खसिएको भनिएता पनि घटनास्थलमा एक थोपा रगत नदेखिनु, अनुहारलगायत शरीरका अन्य बाहिरी भागमा कुनै चोट पटक नदेखिनु, सिसी क्यामेराको फुटेज उपलब्ध नहुनु आदिले घटना रहस्यमय देखिएको हुँदा मनगणन्ते अनुमानको भरमा निष्कर्षमा पुग्नु राम्रो होइन,’ सभापति भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गम्भीर ढंगले अनुसन्धान तथा छानबिन अगाडि बढाई सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित पक्षमा नेपाली कांग्रेस पर्वत आग्रह गर्दछ।’

कांग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले घटनाको प्रकृति हेर्दा सुनियोजित हुनसक्ने बताए। ‘ललितानिवास जग्गा प्रकरणमा मुछिएका ठूला माछा समातिने डरले नियोजित रुपमा यो घटना गराइएको हुनसक्छ, सचिव श्रेष्ठ आत्महत्या गर्ने र गर्नुपर्ने व्यक्ति नै होइन,’ उनले भने।

तत्कालीन समय डिल्लीबजार मालपोत कार्यालयमा नायव सुब्बा पदमा कार्यरत श्रेष्ठसहित उक्त कार्यालयका कर्मचारी र तत्कालीन मन्त्रिपरिषद्को निर्णय गर्ने राजनीतिक नेतृत्व अख्तियारको निगरानीमा थिए। उनीनिकट स्रोतका अनुसार शुक्रबार अख्तियारमा बयान दिएर फर्किएका थिए। केही समयदेखि अख्तियारले निरन्तर तारेखमा राखेर बयान लिइरहेका श्रेष्ठबाट गम्भीर कुरा बाहिर आउने भयले यस्तो घटना गराइएको पर्वत कांग्रेसका अधिकांश नेताको दाबी छ।
श्रेष्ठ २०५८ सालमा सेवा निवृत्त भएपछि सामाजिक काममा सक्रिय भएका थिए। उनी लायन्स क्लबको ३२५ बि वान का बर्ष २०१३÷०१४ मा डिस्ट्रिक्ट गर्भनर भएका थिए। कांग्रेसको १३ औ महाधिवेशनमा पर्वतमा जिल्ला कार्यसमितिमा बिजयी भएका उनलाई जिल्ला सचिवमा मनोनित गरिएको थियो।

श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। श्रेष्ठको पार्थिव शरीरमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, अर्जुनप्रसाद जोशी, बालकृष्ण खाँड, रामकृष्ण यादवलगायतले पार्टीको झण्डा ओढाएका थिए।

अन्त्येष्टिमा पर्वतका सभापति खिमप्रसाद भुसाल, नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङ, जिल्ला सचिव विश्वप्रकाश प्रसाई, कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारीलगायतका नेताहरू पुगेका थिए।

प्रकाशित: १४ श्रावण २०७६ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App