मकवानपुर– प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियाले शपथ लिएका छन्। मुख्य न्यायाधिवक्ता थपलियालाई प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलको विशेष उपस्थितिमा आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
नुवाकोटको तत्कालीन मदनपुर गाविसमा जन्मिएर काठमाडौं महानगरपालिका–१४, कलंकीमा बस्दै आएका थपलियाले राजनीतिशास्त्र र कानुन विषयमा स्नातकोत्तर (एम.ए./एलएलएम) उत्तीर्ण गरेका छन्। तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका उनी पार्टीमा कानुनी क्षेत्रको काम गर्दै आएका थिए। २०४४ सालदेखि कानुनी क्षेत्रमा प्रवेश गरेका उनी २०४८ बाट अधिवक्ता र २०७४ साउनदेखि वरिष्ठ अधिवक्ता भएका थिए।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता थपलियालाई बिहीबार सिफारिस गरेका थिए। २०७४ फागुन २४ गते नियुक्त भएका मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले कार्य असन्तुष्टि जनाउँदै जेठ २३ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
शपथ ग्रहण समारोहमा प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जगनाथ थपलिया, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाललगायतको उपस्थिति थियो।
प्रकाशित: १२ श्रावण २०७६ १२:१४ आइतबार