काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहदुर देउवाले पार्टीको महाधिवेशनबारे आफ्नो धारणा राख्ने भएका छन्।
आज दुई बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नियमावली र मस्यौदाबारे समेत छलफल हुनेछ। एक केन्द्रीय सदस्यका अनुसार सभापतिले महाधिवेशनबारे प्रष्ट्यापछिमात्र अन्य विषयमा प्रवेश गरिने छ।
पार्टीका तल्ला तहलाई पूर्णता दिने विषयमा समेत बैठकमा छलफल हुने छ। क्रियाशिल सदस्यता वितरण, भातृ संगठन र विवादास्पद जनसम्पर्क समितिबारे समेत कांग्रेसको यो बैठकले ठोष निर्णय लिने अपेक्षा गरिएको छ।
विजय गच्छदार नेतृत्वको फोरमसँगको एकतापछि क्रियाशिल सदस्यता टुंग्याउनेबारे बैठकमा छलफल गर्ने कार्यसूची रहेको छ।
बैठकमा पहिलो चरणको जागरण अभियानको समीक्षा र दोश्रो चरणको जागरण अभियानको तयारीका विषयमा पनि छलफल हुने छ।
प्रकाशित: २२ असार २०७६ ०७:१८ आइतबार