१६ चैत्र २०८० शुक्रबार
राजनीति

जनअपेक्षा एकातिर, सरकारको ध्यान भ्युटावरतिर

विराटनगर - तीनवटै तहका सरकार चुनिएपछि जनताको आवश्यकतामा आधारित विकास आयोजनाले गति लिने आमविश्वास थियो। तर त्यसको ठीकविपरीत भ्युटावर, संसारकै अग्लो बुद्ध र गाईको मूर्ति बनाउनेजस्ता अनुत्पादक कामले प्राथमिकता पाउन थालेको छ। केही नयाँ काम गरेको देखाउने चाहना र कार्यकर्तालाई आर्थिक फाइदा दिलाउन सकिने स्वार्थका कारण ठाउँ न कुठाउँ भ्युटावर निर्माणमा जुटेको आरोप जनप्रतिनिधिहरूमाथि लाग्न थालेको छ।

संघीय सरकार झापाको दमक र मोरङको विराटनगरमा भ्युटावर बनाउन जुटेको छ भने प्रदेश १ सरकार पनि विभिन्न ठाउँमा टावर बनाउने योजनामा छ। प्रदेश सरकारले काँकडभिट्टामा ‘संसारकै अग्लो बुद्ध मूर्ति’ बनाउने घोषणा गरिरहँदा मोरङको सुन्दर हरैंचा नगरले पनि ‘संसारकै अग्लो गाईको मूर्ति बनाउने’ योजना बनाइरहेको छ। स्थानीय, प्रदेश र केन्द्र सरकार यसरी भ्युटावर निर्माणमा किन लागेका होलान्, यसबारे अनेक अनुमान लगाउन थालिएको छ। जनप्रतिनिधिहरूले यसलाई विकासको नमुना भन्ने गरेका छन्।

तर जानकारहरू भने यसलाई कार्यकर्ता पोस्ने मेलो ठान्छन्। ‘दमक र विराटनगरमा त्यस्तो के चिज छ, जसलाई हेर्न भ्युटावर आवश्यक परोस्’, राजनीतिशास्त्रका अध्यापक मुकुन्द राई भन्छन्, ‘विकास जनताको दैनिक जीवनसँग जोडिनुपर्छ। भ्युटावर त्यस्तोमा पर्दैन। तसर्थ राज्यको त्यो लगानी व्यर्थ र औचित्यहीन छ।’ उनका अनुसार निर्माणको काममा उपभोक्ता समिति बनाउने, कार्यकर्ता र आसेपासे राख्ने, कमिसन खाने काममात्रै यस्तोमा देखिने गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयं भ्युटावरका लागि वर्षौंदेखि मरिमेटेर लागिपरेका छन्। उनको गृहनगर दमकमा बनाउने भनिएको बहुचर्चित भ्युटावरलाई उनले आफ्नो सफलताका रूपमा अथ्र्याउने गरेको उनका पटकपटकका भाषणबाट बुझ्न सकिन्छ। पूर्व–पश्चिम राजमार्गको दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटो हुँदै ३ सय मिटर भित्र छिरेपछि दमक नगरपालिका–३ दापगाछी पुगिन्छ, जहाँ प्रधानमन्त्री ओलीद्वारा १८ तले भ्युटावरको शिलान्यास भएको छ। उसै त कच्ची सडक, त्यसमाथि जग्गाको बीचमा राखिएको शिलान्यास स्तम्भको माथिल्लो भाग हराइसकेको छ। त्यहाँसम्म पुग्ने मूल सडकमा कालोपत्रे गर्ने योजना नपरेको होइन तर योजनामुताबिक काम सम्पन्न हुन नसक्दा सो सडकको नियति उस्तै छ।

स्थानीय केशव दाहाल भ्युटावरसम्म पुग्ने सडक निर्माण थालिएको लामो समय भए पनि अहिलेसम्म सम्पन्न हुन नसकेकोप्रति दुःख व्यक्त गर्छन्। उनी भन्छन्, ‘विकासका लागि राजनीतिक नेतृत्वले इच्छाशक्ति देखाउनु स्वाभाविकै हो तर ठूला योजना आउने ठाउँमा सडकै बन्न यत्रो समय लाग्नुचाहिँ अनौठो हो।’ उनका अनुसार समयमै सडक बनाइसक्न स्थानीयले पटकपटक माग गरे तर त्यसको सुनुवाइ हुन सकेको छैन।

सुरुमा सो भ्युटावरका लागि १ अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमान थियो। तर अहिलेको विस्तृत परियोजना प्रतिवेदनमा २ अर्ब ७४ करोड लाग्ने अनुमान गरिएको छ। शिलान्यासका बेला ओलीले सुविधासम्पन्न भ्यु टावर बनाउने बताएका थिए। ‘माथिल्लो तल्लामा घुम्ने रेस्टुरेन्ट हुनेछ, त्यसबाट पूर्वमा टिस्टा नै देखिनेछ,’ उनले भनेका थिए, ‘मुलुककै आकर्षक भ्युटावर बनाउने जिम्मेवारी सरकारले लिनेछ।’ भ्युटावरका लागि ६ बिघा जग्गा प्राप्ति भएको छ। जग्गादातामध्येका डिल्ली चापागाईं भ्युटावर निर्माणले दुई वर्षसम्म गति नलिँदा अन्योल बढेको बताउँछन्। ‘भ्युटावर बन्दैन भन्ने हल्ला पनि छ,’ उनी भन्छन्। उनका अनुसार भ्युटावरको नाम गरेर जग्गाको बिक्री ह्वात्तै बढ्यो। ‘बाटो भएनभएका ठाउँ सबैतिर जग्गाको भाउ २ लाखबाट १० लाखसम्म पुग्यो,’ उनले भने, ‘जग्गा धेरै हुनेले प्रशस्त कमाए, खै अहिलेसम्म योजना अघि बढ्ने छाँटकाँट छैन।’

विराटनगर महानगरपालिका–३ स्थित आयल निगम भन्ने स्थानमा पनि भ्युटावर बनाउने घोषणा भइसकेको छ। संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाले संयुक्तरूपमा निर्माण गर्ने भनी गत कात्तिकमा शिलान्यास गरिए पनि अझै त्यसको काम अघि बढ्न सकेको छैन। भ्युटावरको डिपिआरसम्म तयार नभएको महानगरपालिका स्रोतले जनाएको छ। सो भ्युटावर निर्माणका लागि विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा ५० लाख रुपैया“ विनियोजन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए।

४ अर्ब लागत अनुमान गरिएको भ्युटावरको उचाइ १ सय १० मिटर हुनेछ। एक बिघा सात कट्ठा क्षेत्रफलमा निर्माण हुने टावरमा राजवंशी समुदायको संग्रहालय, बिजनेस कम्प्लेक्स, रिक्रिएसन सेन्टर, डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट, प्रदर्शनी केन्द्रलगायत रहने बताइएको छ। सोही भ्युटावर निर्माणका लागि प्रदेश सरकारले पनि एक करोड रुपैया“ विनियोजन गरेको छ।

पर्यटनको प्रचुर सम्भावना बोकेको बगरेभन्ज्याङमा पिकनिक गएको बेला हर्कटे हुँदै सिकुरी भन्ज्याङसम्म हाइकिङ गर्न सकिने अध्यक्ष राईले जनाए। हर्कटेबाट सिलिचुङ, टेम्केलगायतका पहाडी डाँडाकाँडाको दृश्य हेर्न सकिन्छ। क्रमागत योजनाका रूपमा २०७७ सालसम्ममा बगरेभन्ज्याङमा ताल, पेनटावरलगायत संरचना निर्माणको काम पूरा गरिने जनाइएको छ।
युवराज विवश/दमक, रोहित राई/धरान, दमन राई/खोटाङ, विनोद सुवेदी/विराटनगर

प्रकाशित: १९ असार २०७६ ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App