१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूजाआजा गरेर मुख्यमन्त्री गुरुङ नयाँ निवासमा

नयाँ निवासमा सर्दा हिन्दु परम्पराअनुसार पूजा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ। तस्बिर: सन्देश/नागरिक

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नयाँ निवास सरेका छन्। यसअघि उनी पोखरा महानगरपालिकाको अतिथि गृहमा बस्दै आएका थिए। नयाँ निवास सर्दा उनले हिन्दु परम्पराअनुसार पूजाआजा गर्दै नरिवलसमेत फुटाए। पूजाअघि मुख्यमन्त्री गुरुङले भवनको दक्षिणतर्फ झन्डोत्तोलन गरे। उनी पौने १० बजेको शुभसाइतमा गृहप्रवेश गरेका हुन्।

हिन्दु धर्मावलम्बी नेपालीले नयाँ घर सर्दा परम्परागत पूजासहित साइत जुराउने चलनलाई मुख्यमन्त्री गुरुङले अपनाएको उनको सचिवालयले जनाएको छ। सरकार गठन भएलगत्तै १५ महिनादेखि राष्ट्रबैंक अतिथि गृहलाई अस्थायी निवास बनाएका मुख्यमन्त्री केही समयपछि महानगरको अतिथि गृहमा सरेका थिए। उनको गृह प्रवेशका क्रममा गण्डकी प्रदेशका मन्त्रीहरू, सांसदहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश योजना आयोगका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, आफन्त तथा सञ्चारकर्मीलगायतको उपस्थिति थियो। आगन्तुकहरूलाई प्रसाद र खिर खुवाइएको थियो।

यसअघि बस्दै आएको सशस्त्र प्रहरी कार्यालय र नेपाल पर्यटन बोर्डका बीचमा रहेको महानगरको अतिथि गृहभन्दा सय मिटर माथि मुख्यमन्त्री सरेको नयाँ निवास छ। यो निवास सुरुमा प्रमुख जिल्ला अधिकारीका लागि भनेर बनाउन थालिएको थियो। संघीयता आउनुअघि नै निर्णय भएर बनाउन सुरु गरिए पनि करिब ६ महिनाअघि गण्डकी प्रदेशको कार्यालय तथा आवास पहिचान समितिले सो भवनलाई मुख्यमन्त्रीको निवास बनाउन सिफारिस गरेको थियो। सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो। मुख्यमन्त्रीको नयाँ निवास अब स्थायी निवास हुने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले बताए। उनका अनुसार सबै प्रक्रिया पु¥याएर यो भवन गण्डकी प्रदेश सरकारमातहत ल्याइनेछ।

नयाँ निवास रहेको दुईतले भवनमा चारवटा पलङ छन्। भवनको पहिलो तलामा बैठक कक्ष, भान्सा कोठालगायत छन्। भवनको पहिलो तलाको पश्चिम कोठालाई गोप्य भेटघाट गर्ने कक्ष बनाइएको छ। भवन परिसरको दायाँपट्टि छुट्टै भेटघाट भवन छ भने त्यसको उत्तरपट्टि सुरक्षाकर्मी भवन बनाइएको छ। परिसरको अन्य ठाउँ भने फूलले सजाइएको छ। मुख्यमन्त्रीलाई हाल नेपाली सेनाका एकसहित पाँच सदस्यीय सुरक्षा टोलीले सुरक्षा दिँदै आएको छ। निवासका लागि भने थप सुरक्षाकर्मी खटिने गरेका छन्। मुख्यमन्त्रीको नयाँ निवास २ करोड १५ लाख ४० हजारको लागतमा निर्माण गरिएको बताइएको छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App