काठमाडौं - नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयासरत अमेरिकाले हालै सार्वजनिक एक रिपोर्टमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने विषय समेटेको छ। अमेरिकाको रक्षा विभागद्वारा जारी सो रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्धलाई बढाउन खोजेको उल्लेख छ।
अमेरिकाले मानवीय सहायता र विपद् व्यवस्थापन, शान्ति स्थापना, सुरक्षा व्यवसायीकरण, प्रतिविद्रोहलगायत क्षेत्रमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने जनाएको छ। नेपाल र अमेरिकाबीचको बढ्दो रक्षा साझेदारीका रूपमा २०१८ जुनमा आयोजित युएस आर्मी प्यासिफिकको नेतृत्वको ‘ल्यान्ड फोर्स टक’ र नेपालसँग भएको उच्चस्तरीय सैन्य संवादलाई लिन सकिने रिपोर्टमा उल्लेख छ। यो वर्ष नेपालमा कैयौं अमेरिकी उच्च अधिकारीले भ्रमण भएको भन्दै रिपोर्टमा युएसप्याकम एडमिरल फिल डेभिडसन र दक्षिण तथा दक्षिण पूर्वी एसियाका उपसहायक रक्षामन्त्रीले गरेको नेपाल भ्रमणलाई उल्लेख गरिएको छ।
अमेरिकाको रक्षा विभागद्वारा जारी एक रिपोर्टमा इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नेपालसँगको रक्षा सम्बन्ध बढाउन खोजेको उल्लेख छ।
रिपोर्टअनुसार इन्डोप्यासिफिकमा साझेदारी गर्ने मुलुकमा यस वर्षदेखि नेपाललाई पनि समावेश गरिएको छ। नेपाल र श्रीलंकालाई यो वर्ष इन्डोप्यासिफिकमा आबद्ध मुलुकको सूचीमा राखिएको छ। दक्षिण एसियामा भारत मुख्य रक्षा साझेदार रहेको र उदाउँदा मुलुकका रूपमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंकासँग पनि साझेदारी अघि बढाउने लक्ष्य अमेरिकाले राखेको छ। इन्डोप्यासिफिक रणनीति चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई टक्कर दिन अमेरिकाले अघि सारेको अस्त्र हो। नेपालले बिआरआईमा हस्ताक्षर गरिसकेको अवस्थामा अमेरिकाले चिनियाँ ऋणको त्रास देखाउँदै नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा आबद्ध गराउन प्रयास गरिरहेको छ।
गत पुसमा अमेरिका भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी समकक्षी माइक पम्पियोकाबीचको भेटमा पनि इन्डोप्यासिफिकका विषयमा छलफल भएको थियो। इन्डोप्यासिफिकमा नेपालले केन्द्रीय भूमिका निर्वाह गर्ने सहमति भएको विषय अमेरिकी विदेश मन्त्रालयबाट सार्वजनिक भएपछि मन्त्री ज्ञवालीले रणनीतिमा नभई इन्डो प्यासिफक क्षेत्रका मुलुकबीच सहकार्य गर्ने विषयमा छलफल भएको जनाएका थिए। मन्त्री ज्ञवाली अमेरिका भ्रमणबाट फर्किएपछि अमेरिकी रक्षा तथा सैन्य उच्च अधिकारीहरू निरन्तर नेपाल भ्रमणमा आइरहेका छन्। उनीहरूले भ्रमणका क्रममा इन्डोप्यासिफिक रणनीतिबारे चर्चा गर्ने गरेका छन्। दक्षिण तथा दक्षिण पूर्वी एसियाका लागि अमेरिकी उपसहायक रक्षामन्त्रीले बिआरआईमार्फत चीनले ऋणको पासोमा पार्ने भन्दै टिप्पणी गरेपछि नेपालस्थित चिनियाँ दूतावासले प्रतिवादसमेत गरेको थियो। नेपाल भ्रमणका क्रममा उनले रक्षामन्त्री, उच्च सरकारी अधिकारीसहितलाई भेटेर इन्डोप्यासिफिक रणनीतिका फाइदाबारे बताएका थिए।
प्रकाशित: १९ जेष्ठ २०७६ ०१:१६ आइतबार